Logo

अन्नपूर्णमा घरमै प्रसूति हुनेको सङ्ख्या शून्य



म्याग्दी, २६ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा प्रसूति हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै विभिन्न समस्या देखिने गरेकाले पालिकाले स्वास्थ्य संस्थामै प्रसूति गराउने अभियान सुरु गरेको थियो ।

प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन सुरु गरिएको अभियान सफल भएको र घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाइएको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले जानकारी दिए ।

“अन्नपूर्णका सबै गर्भवतीहरूले पछिल्लो एक वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन् । घरमा प्रसूति हुनेको सङ्ख्या शून्यमा झारेका छौँ”, उनले भने, “यसलाई कायम राख्नका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ ।”

यहाँ आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । आव २०७९/८० मा एक सय ३९ मध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए । आव २०७८/७९ मा पालिकामा एक सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए ।

घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताए ।

“गर्भवती र सुत्केरीलाई अण्डा, भाले, घ्यू, सर्वोत्तम पिठो र न्यानो कपडा वितरण गर्न गत आवमा आमासँग जनप्रतिनिधि कार्यक्रमका लागि सात लाख बजेट विनियोजन भएको थियो”, उनले भने, “यस वर्ष उक्त कार्यक्रमलाई चार लाखसहित स्वास्थ्यसम्बन्धी कार्यक्रममा ९१ लाख विनियोजन भएको छ ।”

तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक÷एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले र आधा लिटर घ्यू दिने गरिएको छ । सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ ।

उपहार दिन थालिएपछि गर्भ परीक्षण गराउने र संस्थागत प्रसूति सेवा लिने दर शतप्रतिशत भएको हो । नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको घार स्वास्थ्य चौकीका प्रमुख विमला केसीको भनाइ छ । “गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहारसुसारमा जागरण आएको छ । उपहार दिइने अण्डा, घ्यू, सर्वोत्तम पिठो र भाले स्थानीय उत्पादन प्रयोग गरिएकाले यसबाट अन्यले पनि लाभ लिएको छन्”, उनले भने ।

आठ वडा रहेको अन्नपूर्णको दोवा, दाना र नारच्याङबाहेक भुरुङ–तातोपानी, शिख, घार, हिस्तान र राम्चेका स्वास्थ्य संस्थामा प्रसूति सेवा केन्द्र छन् । वडा नं ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालनमा छ । रासस



प्रतिक्रिया दिनुहोस्