Logo

म पनि विदेशमा काम गरेर नेपालमा केही गर्नुपर्छ भनेर फर्किएको हुँ : उर्जामन्त्री खड्का



नवलपुर (नवलपरासी), २९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक परिवर्तनको जिम्मा युवा पुस्तामा रहेको बताउनुभएको छ । उहाँले निराशालाई आशामा परिणत गर्ने जिम्मा युवा पुस्तामा आएको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा शुक्रबारदेखि सुरु भएको नेपाल जेसीजको सम्मेलन उद्घाटन गर्दै मन्त्री खड्काले आफू पनि विदेशमा काम गरेर नेपालमा केही गर्नुपर्छ भनेर फर्किएको स्मरण गराए ।

“विदेश जानु अपराध होइन, त्यहाँ गएर सीप आर्जन गर्नु, मेहिनत गर्नु र फेरि आएर स्वदेशमा त्यसको सदुपयोग गर्नु अत्यन्त राम्रो पक्ष हो”, उनले भने, “त्यसैले नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन भनेर निर्माण गरिएको गलत भाष्य हटाउने दायित्व युवाकै काँधमा छ ।”

मुलुकमा ठूलो परिवर्तन हुन लागेको भन्दै मन्त्री खड्काले युवाले त्यस परिवर्तनलाई बिर्सन लागेकाले सबैलाई सम्झाउन जरुरी रहेको बताए । “हामीहरूले अहिले साढे २८ हजार मेघावाट विद्युत् उत्पादन गर्ने भनेका छौँ”, उनले भने,“जहाँ ४७ खर्बभन्दा बढीको लगानी हुन्छ, त्यति लगानी गरिँदा कति रोजगारी सिर्जना हुन्छ होला एक पटक विचार गर्नुहोस् ।” त्यहाँ प्रयोग हुने र उत्पन्न हुने रोजगारी महत्त्वपूर्ण भएको उनको भनाइ छ । युवाहरू निराश नभइ सङ्घर्ष गर्दै हिम्मतले काम गर्नुपर्ने र त्यसमा सरकारले सघाउने उनले बताए ।

जेसीजको आन्तरिक सम्मेलन भए पनि देशभरबाट प्रतिनिधिहरू आएकाले सम्मेलनलाई यस क्षेत्रको कला, संस्कृतिको प्रदर्शनी, स्थानीय उत्पादनको प्रवर्द्धन एवं पर्यटकीय आकर्षणको माध्यमबाट गैँडाकोटलाई चिनाउन भूमिका खेल्ने पोखरेलको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्