Logo

प्रधानमन्त्री ओलीले मनोमानी गर्न उपसभामुख हटाउन लागेको प्रभु साहको आरोप, दिए कडा चेतावनी



काठमाडौं, २९ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी गर्नका लागि उपसभामुख इन्दिरा रानामगरलाई हटाउँने षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् । आजपानिकटको आईटी आर्मीले आज (शनिबार) काठमाडौंको गौशालाको पशुपतिमा आयोजना गरेको काठमाडौं उपत्यकास्तरीय विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले मनोमानी गर्नका लागि उपसभामुखलाई हटाउने खेल आफूलाई स्वीकार्य नभएको उनले बताए ।

‘महिनौ पहिलाको घट्नालाई जोडेर उपसभामुखलाई हटाउन अहिले आएर हटाउन खोज्नु हामीलाई स्वीकार्य छैन् । जब संवैधानिक परिषदमा बहुमत नपुगेपछि सरकारले पुरानो मुद्दा कोट्याउँदै उपसभामुखलाई हटाउने र मनोमानी गर्ने खेलमा लागेको छ, यो हामी कदापी स्वीकार्य गर्दैनौं’ आजपा अध्यक्ष साहले भने, ‘यदि उपसभामुले गल्ती गरेको हो भने उनलाई दण्ड गर्न सकिन्छ । पहिला पालैपालो सरकारमा सहभागि भएको कांग्रेस र एमालेले पहिले यो मुद्धा किन छोडे र अहिले आएर किन बोके ? मनमौजी गर्न नपाउने भएपछि जे पनि गर्ने ?’

यस्तै उनले वर्तमान संविधानको काम नभएकाले खारेज गर्नुपर्ने आवश्यकत्ता औंंल्याए । अहिलेको संविधानले मुलुकमा स्थायित्व हुन नसक्ने बताउँदै उनले समृद्धिका लागि संविधान खारेज गर्नुको विकल्प नभएको टिप्पणी गरे। अहिलेको संविधानले नेपाली जनताको आवश्यक्ता र चाहना पुरा गर्न नसक्ने बताउँदै उनले यो ‘ककटेल’ संविधान खारेज गर्नुपर्ने बताए ।

‘अहिलेको संविधान कक्टेल संविधान हो । यो संविधानले नेपाली जनताको आवश्यक्ता, चाहना पुरा गर्न सक्दैन् । राजनीतिक स्थायित्व, मुलुकलाई समृद्ध बनाउन सक्दैन्’अध्यक्ष साहले भने, ‘एउटा गाडीमा होन्डाको टायर, हिरोको ब्रेक, यमहाको इन्जिन, एफजेडको फुयुल ट्याँकी, पल्सरको ह्याण्डिल लगाएपछि कस्तो हुन्छ ? यो संविधान पनि त्यस्तै छ । यसमा समाजवाद पनि छ, पुँजीवाद पनि छ तर कामै नलाग्ने, मुलुक र जनतालाई केही दिनै सक्दैन् । त्यसैले यसको खारेजको बिकल्प छैन् ।’

हालै आजपाको केन्द्रीय कमिटीको बैठक काठमाडौंमा सम्पन्न भएको छ । सम्पन्न सो बैठकले गरेका निर्णय आईटी आर्मीले काठमाडौं उपत्याकामा पूर्णरुपमा कार्यान्वयन गर्दै अघि बढनुपर्ने उनले निर्देशन दिए । सातै प्रदेशमा असोज ३ गते संविधानको अन्त्येष्टि यात्रा निकाल्ने निर्णय गरेको आजपाले त्यसलाई काठमाडौं उपत्यकामा पनि भव्यरुपमा कार्यान्वयन गर्नुपर्ने गरी तयारीमा जुटन साहले निर्देशन दिए । काठमाडौं उपत्यकाको तीनवटै काठमाडौं, ललितपुर, भक्तपुरत जिल्लामा आजपाले संविधानको अन्त्येष्टि यात्रा निकाल्ने तयारी गर्नु अघि आईटी आर्मीको भेला काठमाडौंमा गरेको हो ।

‘यो संविधान विग्रेको रेडियोजस्तै छ । राम्रो आवाज पनि आउँदै, घ्यारघ्यार गरिरहन्छ । त्यसैले यसलाई खारेज गर्नुको बिकल्प छैन् । संविधानको अन्त्येष्टि यात्रा भव्यरुपले गर्ने गरी तयारीमा तपाईहरु लाग्नुस्’ आजपा अध्यक्ष साहले भने ।

मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, बेथिति बढदै गईरहेको र सरकारको नेतृत्व सहित सरकारमा भ्रष्टहरुको बाहुल्यता रहेको र त्यसलाई रोक्दै आन्दोलनमा जानुको बिकल्प नभएको पार्टीको निर्णयलाई कार्यान्वयन गर्न पार्टीका विभिन्न जनवर्गीय संगठनका साथै पार्टीका कमिटीहरु अहिले भेला, पुनर्गठन, गठन गर्दै आगाडी बढेको छ ।

आजपाले ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने निर्णय गरेको छ ।

आईटी आर्मीका उपत्यकाका अध्यक्ष टाईसन लामाको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु चन्द्रभूषण साह, रविन्द्र सिंह, बिजय यादव, रंजू कुमारी साह, सरोज श्रेष्ठ, संजय साह, आर्या पाण्डे लगायतको बिशेष सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्