Logo

प्रधानमन्त्री ओलीले किन उठाए आफूहरुविरुद्ध भयानक घेराबन्दी भएको कुरा ?



काठमाडौं, ३० भदौ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई अगाडि बढ्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरेका छन् ।

नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसङ्गठन समन्वय संयन्त्रको व्यवस्थापनमा हिजो (शनिबार) आयोजित ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको आज बुढानीलकण्ठमा उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिले पनि परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरू लागिरहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले भने–‘अहिलेको परिस्थिति जटिल छ । हामीविरुद्ध भयानक घेराबन्दी छ । परिवर्तनका विरोधी शक्तिहरू संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरङ्कुश र अधिनायकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरू बेसरम उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन । पदधारी होइन, आशाधारीहरू कराइरहेका छन् । जानी नजानी एक खालका मानिसहरूबाट नकारात्मक माहौल खडा गर्ने कोसिस भइरहेको छ । सत्य र तथ्यको बाटो नभई झुठ, भ्रम, षड्यन्त्र र तिकडमको सहारा लिएका छन् । उनीहरूलाई काम र मेहनत गर्नुपर्दैन, भएको राम्रो कामको निन्दा र उल्टो प्रचार गरे पुग्छ ।
आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापकरूपमा लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरूलाई गतिशील बनाउँदै समस्याहरूको खोजी र निदान हुने अपेक्षा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सङ्गठनको आयतनसँगै घनत्व पनि बढ्नुपर्ने बताउँदै अहिले हाम्रो सङ्गठनभित्र सिथिलता, उदासिनता र जिम्मेवारीबोधको कमी र अलिकति इलुजन देखिएको छ भने । उनले आन्दोलनकारी प्रवृत्ति अत्यन्त घट्दो रहेको हुँदा त्यसमा ध्यान दिनुपर्ने बताए । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘नलडी कोही हुन्न विजेता’ स्मरण गराउँदै विजयी हुन भ्रमविरूद्ध लड्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले मिसन–२०८४ एमालेका लागि निर्णायक विन्दु भएकाले पार्टीका सबै सदस्यहरू पार्टीका कार्यकर्ताहरू हौं भन्ने कुरालाई मनन गरी कर्मी मौरीका रूपमा क्रियाशील हुन आग्रह गर्नुभयो । २०८४ को निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बलिया आधार रहेको बताउँदै त्यसका लागि अहिलेदेखि नै पार्टीका नेताकार्यकर्ताले सारा सामर्थ्य लगाएर काम गर्दै जानुपर्नेमा अध्यक्ष ओलीले जोड दिए ।



प्रतिक्रिया दिनुहोस्