Logo

प्रचण्डसँग उपेन्द्रको सम्बन्ध सुधार हुँदै, कांग्रेस–एमालेविरूद्ध आक्रामक



काठमाडौं, ३० भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव यतिवेला देश दौडाहमा छन् । पार्टी विभाजनको मारमा परेका यादव पार्टीलाई सुदृढ बनाउने निहुँमा देशव्यापी सक्रिय भएका छन् ।

आफ्नो पार्टी विभाजन गर्न सक्रिय भूमिका खेलेको भनेर यादव तत्कालिन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग रुष्ट रहँदै आएका थिए । यादवले सार्वजनिक रुपमै प्रचण्डको आलोचनासमेत गरेका थिए ।

अहिले कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाएपछि भने उनी विस्तारै प्रचण्डप्रति नरम देखिन थालेको चर्चा छ । उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीकेन्द्रित आलोचना बढाउन थालेका छन् । हुन त यादवको दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएको छ । जसपा, नेपाल अहिले सरकारमा सहभागी छैन् ।

बरु, आफूसँग अलग भएर गएको अशोक राई नेतृत्वको जसपाबाट दुई जना मन्त्री अहिलेको सरकारमा सहभागी छन् । ओलीले राईलाई बढि महत्व दिएपछि यादव प्रचण्डसँगभन्दापनि एमाले नेतृत्वसँग नै बढि आक्रोशित बनेका छन् । अहिले प्रचण्डले पनि समाजवादी मोर्चालाई सक्रिय बनाएर अहिलेको सत्ता गठबन्धनविरुद्ध निर्णायक मोर्चाबन्दीको थालनी गरेका छन् ।

यद्धपी यादवले भने प्रचण्डको स्वार्थको लागि मोर्चामा सक्रिय नहुने टिप्पणी गर्ने गरेका छन् । पछिल्लो समय कांग्रेस र एमालेले संविधान संशोधनको नाममा साना दललाई निमिट्यान्न पार्न खोजेको निश्कर्षमा पुगेका यादवले अहिले भने प्रचण्डसँग सम्बन्ध सुधार गर्न खोजेको चर्चा छ । यी दुई नेताबीच छिट्टै भेटवार्ताको तयारी छ । यादवपनि यतिवेला काठमाडौं बाहिर छन् । प्रचण्ड पनि पार्टीको कार्यक्रममा सरिक हुन उपत्यकाबाहिर छन् ।

दुई नेताबीच राम्रो सम्बन्ध कायम गर्न माधव नेपालले दबाब बढाएको बुझिएको छ । आगामी निर्वाचनमा समाजवादी मोर्चालाई बलियो बनाएर जाँदा सम्मानजनक शक्ति हाँसिल हुने माधवको बुझाई छ । अहिले मोर्चाको संयोजकको भूमिकामा नेकपाका महासचिव नेत्रविक्रम चन्द छन् ।

विप्लवले पनि उपेन्द्र र प्रचण्डबीचको सम्बन्ध सुधारमा भूमिका खेलेको बताईएको छ । उपेन्द्रले अहिले कांग्रेस र एमालेले संविधान संशोधनको नाममा अधिकार खोस्न खोजे निर्णायक आन्दोलन छेड्ने चेतावनी दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्