Logo

अमेजनमा तिनले क्राइस्टसँगै कोरोना ल्याउँदै छन्



सुइ ब्रान्डफोर्ड :  अहिले ब्राजिलमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ । यही समय इथ्नो ३६० नाम गरेको एउटा इभान्जेलिक क्रिस्चियन मिसनरी समूह ब्राजिलमा एउटा विवादास्पद काममा हात हाल्दैछ । अमेरिकाको स्यानफोर्ड फ्लोरिडामा रहेको यो संस्था अन्तराष्ट्रिय स्तरमा न्यु ट्राइब्स मिसनको रूपमा चिनिन्छ । यसले भर्खरै एउटा विमान खरिद गरेको छ । यसले यो विमानलाई बाह्य जगतसँगको सम्पर्कमा नरहेका अमेजन रेन फरेस्टमा आश्रित आदिवासीसँग सम्पर्क गरेर तिनलाई क्रिस्चियन बनाउने काममा प्रयोग गर्न लागेको छ । आदिवासीसँग यसरी सम्पर्क गर्नुलाई ब्राजिलको इन्डिजिनियस एजेन्सी (एफयुएनएआई)ले पूर्णत निषेध गरेको छ, भने ब्राजिलको १९८८ को संविधानअनुसार पनि यो पूर्णतः गैर कानूनी छ ।

यो रुढीवादी क्रिस्चियन समूहको हस्तक्षेपले एकान्तमा बसेका अमेजनका आदिवासीमाझ कोभिड–१९ लगायतका डरलाग्दा रोगका संक्रमण फैलाउन सक्छ । यी आधुनिक सभ्यताको सम्पर्कमा आउन नचाहेका आदिवासीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने गर्छ । ब्राजिलका न्यु ट्राइब्स मिसनका अध्यक्ष इडवार्ड लुइसले एउटा सानो क्रिस्चियनको समूहमाझ जनवरीमा नै भनिसकेका छन्, ‘इथ्नो ३६० एभिएसन आर ६६ हेलिकप्टर पश्चिमी ब्राजिलको अमेजन रेन फरेस्टको दुर्गम क्षेत्रभित्र प्रवेश गर्नेछ । आफ्ना शब्द मनुश्य वर्गलाई सुनाउन प्रभु लालायित हुनुहुन्छ । हेलिकप्टरको बन्दोबस्त म आफैं गर्नेछु ।’

लुइसले ‘मनुश्य वर्ग’ भनेर दुर्गम अमेजन क्षेत्रमा बसोबास गर्ने आदिवासीलाई जनाएका छन् । ब्राजिलमा यस्ता फरकफरक एक सय १५ आदिवासी समूहको पहिचान भएको छ । जंगलमा आश्रित यति धेरै आदिवासी अन्त कहीँ पनि छैनन् । यी आदिवासीमध्ये अधिकांश भने ब्राजिलको पश्चिममा पेरूसँग जोडिएको भूभागपट्टी छरिएर रहेका छन् । यो त्यही क्षेत्र हो जहाँ इथ्नो ३६० एभिएसन आफ्नो क्रिस्चियन मिसनरी लैजान चाहन्छ ।

ईश्वरसँगै महामारी विस्तार

न्यु ट्राइब्स मिसन सन् १९४२ मा स्थापना गरिएको हो । यसको ब्राजिलमा लामो र विवादास्पद इतिहास छ । एकपटक यसले पारा राज्यको उत्तरपट्टी जंगलमा बस्ने स्वतन्त्र जोइ आदिवासीसँग सम्पर्क गर्ने कोसिस गरेको थियो । सन् १९८२ को कुरा हो, गोल्ड–माइनर र ब्राजिलका कट्टुस संकलन गर्नेहरुले पहिल्यै जोइहरुको इलाकामा अतिक्रमण शुरुगरेका थिए । तर जोइहरु तिनको सम्पर्कमा आएका थिएनन् । त्यसपछि त्यहाँ नयाँ आदिवासी भएको न्यू ट्राइब्स मिसनले थाहा पायो । त्यसपछि तिनलाई आकर्षित गर्न मिसनरीले आकाशबाट विभिन्न चिजविज उपहार स्वरुप खसाल्न थाले । सन् १९८७ मा त मिसनरीहरु जोइहरुको इलाकाको छेउतिर आफ्नो क्याम्प नै खडा गर्न सफल भएका थिए ।

२ वर्षसम्ममा यी इभान्जेलिकल मिसनरी पटक–पटक जोइको गाउँमा लुसुक्क छिरेर तिनीहरुसँग सम्पर्क राख्ने कोशिस गरिरहे । मिसनरीका अनुसार तिनको हस्तक्षेपमा जोइहरु हतास र प्रतिक्रिया विहीन भइरहे । तर नोभेम्बर १९८७ मा एक सयजना जतिको जोइ आदिवासी समूह इभान्जेलिकको क्याम्प घेर्न गए । यो नै तिनीहरुसँगको निर्णयात्मक सम्पर्क बन्न पुग्यो । इसाराको सहारामा इभान्जेलिकल मिसिनरीले विभिन्न उपहार देखाएर लोभ्याउन खोजे । तर त्यसको बदला यी आदिवासीले आफ्नो परम्परागत शैलीमा भाला भाँचेर तिनलाई दिँदै तत्कालै त्यो ठाउँ छोड्ने चेतावनी दिए ।

यही घटनाबाट पाठ सिकेर एफयुएनएआइ (ब्राजिल इन्डिजिनियर्स एजेन्सी) ले कुनै पनि मिसनरीलाई ब्राजिलको आदिवासी क्षेत्रमा घुस्न प्रतिबन्ध लगायो । त्यसको सट्टामा न्यू ट्राइब्स मिसनका मिसनरीले जोइलाई तिनको क्षेत्रबाहिर आफ्नो इलाकामा आउन लोभ्याउने कोशिस गरे । ब्राजिलको एक एनजिओ सोसियो इन्भाइरोमेन्टल इन्स्टिच्युटका अनुसार मिसिनरी सर्वप्रथम जोइलाई आफ्नो भाषा सिकाउन चाहन्थे । त्यसपछि बाइबल पढाएर तिनलाई क्रिश्चियन बनाउन चाहन्थे ।

न्यू ट्राइब्स मिसनका मिसनरीको सम्पर्कमा आएपछि, जोइहरु मलेरिया र इन्फ्लुएन्जाको शिकार बन्दै भटाभट मर्न थाले । जोइहरुसँग पश्चिमाको सम्पर्कमा आउदा लाग्न सक्ने संक्रमणविरुद्ध लड्न प्रर्याप्त रोग प्रतिरोधात्मक क्षमता थिएन । जब सन १९८९ मा एफयुएनएआई त्यस क्षेत्रको भ्रमणमा गयो यसले आदिवासी रोगको शिकार भएको दयनीय हालत देख्यो । मिसनरीसँगको सम्पर्क शंकाको घेरामा प¥यो र एफयुएनआईले नै सन् १९९१ मा न्यू ट्राइब्स मिसनलाई त्यहाँबाट जबरजस्ती हटाउन सफल भयो ।
सन् १९८७ देखि १९९१ सम्ममा रोगका कारण ४५ जना जोइ आदिवासी मारिएका थिए र तिनको संख्या घटेर १३३ भएको थियो । अहिले सुधार आउँदै तिनको जनसंख्या दुई सय ५० जना पुगेको छ । तर तिनको अस्तित्व नयाँ भित्रिने रोग संक्रमण, परम्परागत बासस्थान विनास र बढ्दो भटमास खेतीका कारण आज पनि उत्तिकै धरापमा छ ।

न्यू ट्राइब्स मिसनको अर्को घिनलाग्दो कुकर्म त्यसपछि बाहिरियो । वारेन स्कट केनल न्यू ट्राइब मिसनकै एक मिसनरीको रुपमा २००८ देखि २०११ सम्म आमेजनोस् राज्यको पश्चिममा अवस्थित कातुकिना आदिवासी क्षेत्रमा बिताए । थुप्रै वर्ष त्यहाँ बिताउँदा तिनले १२ वर्षदेखिका आदिवासी किशोरीहरुलाई विश्वासमा लिँदै यौन दुव्र्यावहार गरिरहे । यो आपराध थाहा पाएर अमेरिकाको सुरक्षाकर्मीले उनलाई फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्डियो । उनको साथबाट बालयौन दुराचार गरेका ९४० वटा फोटो बरामत भए । केनललाई मुद्दा लगाउने वकिलका अनुसार एउटा फोटोमा केनलले आफैं बालिकासँग यौन सम्पर्क गर्दै भनेर लेखेका थिए । ‘केनेल सबैभन्दा तुच्छ प्रकारको अपराधी हो । यसले अवोध बालिकालाई शिकार बनाएको छ’ केनेललाई कठघरामा उभ्याउने डेपुटी स्पेसल एजेन्ट सान फोल्डेनले भनेका थिए । सन् २०१४ मा केनेललाई ५८ वर्षको जेल सजायँ सुनाइएको थियो ।

एउटा विध्वंशक विमान आउँदै छ ः

अहिले इथ्नो ३६०को आदिवासी क्षेत्रमा घुसेर तीसँग सम्पर्क बढाउने योजना पहिलाजस्तो लरतरो तरिकाले आएको छैन । फेब्रुअरीमा बाजिलको जइर बोल्सोनारोको प्रशासनले अनपेक्षित रुपमा रिकार्डो लोपेज डियाजलाई ‘द कोर्डिनेसन अफ आइसोलेटेड एण्ड रिसेन्ट्ली कन्ट्रयाक्ट्ड इन्डियनस’ (सिजिआईआईआरसी)को प्रमुखमा नियुक्त ग¥यो । सिजिआईआईआरसी भनेको एफयुएनएआईकै सबैभन्दा संवेदनशिल विभाग हो भने त्यहाँका नवनियुक्त डियाज एक एन्थ्रोपोलोजीष्ट तथा इभान्जेलिकल मिसनरी हुन् । उनले दशकौंदेखि न्यु ट्राइब्स मिसनका मिसनरीका रुपमा काम गरिसकेका छन । उनी मुख्यत आदीवासीसँग सम्पर्क बढाउने काममा संलग्न थिए ।
ब्राजिलियन म्यागजिन इपोकाले सन् २०२० मा खुलासा गरे अनुसार सन् २०१७ देखि नै न्यु ट्राइब्स मिसनले विभिन्न प्रमोसनल भिडियो बनाउदै आर ६६ हेलिकप्टरको आवश्यकता र यसको खरिदका लागि सहयोग संकलन गर्दै आएको थियो । एउटा भिडियो क्लिपमा पाइलट जेरमी डेड्रिचले हेलिकप्टरको आवश्यकतामाथि बोलेका छन्, ‘सर्भाइभल इन्टरनेसनल नामक एनजिओका अनुसार बाजिलको यो पश्चिमी क्षेत्रमा अहिलेसम्म बाह्य जगतसँगको सम्पर्कमा आइनसकेका थुप्रै आदिवासीको बसोबास छ । दक्षिण अमेरिकामा पुग्न नसकिने सबैभन्दा निर्जन क्षेत्र हो यो । त्यसैले हामीलाई त्यहाँ पुग्न हेलिकप्टर चाहिएको छ । सर्भाइल इन्टरनेसनल आफँै चाहीँ इथ्नो ३६० को स्वार्थविरुद्ध उभिएको छ ।

यसकी एडभोकेसी डाइरेक्टर फियोना बाट्सनले भनेकी छिन्, ‘द न्यु ट्राइब्स मिसनको हेलिकप्टर प्रयोग गरेर अहिलेसम्मका सम्पर्कविहिन आदिवासीको क्षेत्रमा घुम्ने योजना एकदमै खतरनाक र गैरजिम्मेवारीपूर्ण छ । तिनले साँच्चै नै ती आदिवासीको इच्छालाई सम्मान गरिरहेका छैनन् । आदिवासी त चाहन्छन् कि तिनलाई हालकै अवस्थामा छोडियोस् ।’ यसको गम्भिरताको बारेमा उनले थपिने्, ‘तिनीसँग सम्पर्क बढाउँदा ती कुनै पनि प्रकारको गम्भिर रोग संक्रमणको शिकार हुनसक्छन् । विगत ६० वर्ष यता न्यु ट्राइब्स मिसनले जबरजस्ती सम्पर्क बढाएका थुप्रै दक्षिण अमेरिकी आदिवासीले रोग संक्रमणका कारण मृत्युवरण गर्नुपरको छ र थातथलोबाट विस्थापित हुनुपरेको थुप्रै उदारणहरु छन् । त्यसैले तिनलाई सम्पर्कविहिन आदिवासी इकालामा घुसेर आदिवासी सखाप पार्ने न्यु ट्राइब्स मिसनको यो कदमलाई जतिसक्दो चाँडो रोक्नुपर्छ ।’

एफयुएनएआईको नीति र अन्तर्राष्ट्रिय कानुन उलंघन

यदि न्यु ट्राइब्स मिसनको यो योजना अघि बढ्छ भने वाह्य जगतसँग सम्पर्क गर्न नचाहने आदिवासीको भावनाको कदर गर्दै तीन दशक पहिला ब्राजिलले अख्तियार गरको ‘जबरजस्ती सम्पर्क गर्न नपाइने’ आधिकारिक नीतिलाई यसले ठाडो चुनौती दिनेछ । जोइजस्ता आदिवासीप्रति जबरजस्ती सम्पर्क गर्न खोज्दा निस्किएका थुप्रै आदिवासी संकट र जोखिमलाई मध्यनजर गर्दै एफयुएनएआईले पनि यही नीतिलाई मान्यता प्रदान गरेको छ ।

तसर्थ सम्पर्क आउन नचाहनेहरुलाई हेलिकप्टर प्रयोग गरेर न्यु ट्राइब्स मिसन जबरजस्ती तिनको क्षेत्रमा घुस्छ भने यो ब्राजिलको नीतिको बर्खिलाप छ । त्यस्तै इथ्नो ३६० का कार्यक्रम म्यानेजर जोइल रिचले एउटा प्रवर्धनात्मक भिडियोमा भनेका छन्, ‘दुभाग्र्यको कुरा, एउटा सानो समूहले मात्र प्लेन लिएर त्यहाँ घुम्न पाउने गरेको छ । अरुको लागि सरकाले निषेध गरेको छ । त्यसले हामीलाई हेलिकप्टर चाहिएको छ ।’ यसको अर्थ न्यु ट्राइब्स मिसन जसरीपनि त्यहाँ घुस्न चाहन्छ ।

एफयुएनइआईको नीतिले ब्राजिललाई बाध्यकारी कदम चलाउन सक्ने अवस्था सिर्जन त सक्दैन । तर विज्ञको धारणा छ कि न्यु ट्राइब्स मिसनले सम्पर्कविहिन आदिवासीसँग घुलमिल गर्न खोज्नु ब्राजिलको १९८८ को संविधान विपरित छ । त्यसअघिका तानाशाहीहरुले आदिवासी समुदायलाई मुलधारमा ल्याउने रणनीतिलाई उल्टाउँदै संविधानले आदिवासीहरुलाई तिनको चाहना अनुसार ट्राइब्सकै रुपमा रहिरन पाउने अधिकार सुनिश्चित गरेको छ । उनीहरुसँग जबरजस्ती सम्पर्क बढाउनु भनेको ब्राजिलले हस्ताक्षर गरेको अन्तराष्ट्रिय सन्धिको पनि उलघंन गर्नु हो । सन् २०१६ मा ब्राजिलले ‘अमेरिकन डिक्ल्यारेसन अन राइट्स अफ इन्डिजियस पिपल्स’मा हस्ताक्षर गरेको थियो । यो सन्धिको धारा २६ले भन्छ : ‘स्वेच्छिकसँग सम्पर्कविहिन एकान्तमा बसेका आदिवासीलाई स्वतन्त्रसँग आफ्नो संस्कृति अबलम्बन गर्दै परम्परागत शैलीमै जिवनयापन गर्ने छुट छ । राज्यले पनि आदिवासी ज्ञान र तिनका संगठनहरुको साथ सहयोगमा तिनको पहिचानलाई सम्मान गर्दै तिनको भूमि, इकाला, वातावरण, सँस्कृति र जीवन संरक्षण गर्ने नीति अवलम्बन गर्नुपर्नेछ ।’

ब्राजिलले सन् २००७ मा संयुक्त राष्ट्र संघको आदिवासी घोषणापत्रमा समेत यसको पक्षमा हस्ताक्षर गरेको थियो । त्यस्तो छुट्टै सशक्त कानुनी प्रावधानको व्यवस्था नभए पनि आदिवासी संरक्षण गर्न यिनै सन्धीहरु प्रयाप्त छन् । तिनका सम्बन्धमा आत्मनिर्णय र आफ्नो क्षेत्रमाथिको अधिकार मुख्य विषय हुन् । जबरजस्ती अरु समुदायसँग घुलमिल नहुनु र आफ्नो सँस्कृति नष्ट हुन नदिनु तिनको अधिकार हो ।

एउटा अनिश्चित भविष्य :

कानुनी रुपमा प्रष्ट हुँदाहँुदै पनि इथ्नो–३६० को गतिविधि विरुद्ध सरकारले कदम चाल्छ या चाल्दैन यो भने शंकाको घेरामा छ । बोल्सोनारो सत्तामा आएपछि शायद न्यु ट्राइब्स मिसनलाई लागेको छ यत्रो वर्ष मानवशास्त्रीको व्यवधान पश्चात फेरी एकपटक परिस्थिति आफ्नो अनुकुलल हुँदैछ । दुर्गम अमेजन क्षेत्रमा आश्रित आदिवासीलाई बोल्सोनारोले पटक पटक चिडियाखानाका जनावरको संज्ञा दिँदै आएका छन् । ‘यो टिठलाग्दो कुरा हो, अमेरिकनले झैं ब्राजिलका सिपाहीले रेड इन्डियन सिध्याएनन ?’ बोल्सोनारो बेलाबखत आक्रोस पोखिरहन्छन् । क्रिश्चियन इभान्जेलिकलको दरो समर्थनमा उनी सत्तासिन भएका थिए । त्यसैले तिनलाई उनको महत्वपूर्ण पदमा नियुक्ति गर्दै पनि आएका छन् ।

धेरै विज्ञले एफयुएनएआइईमा डियाजलाई नियुक्ति गर्नुले सम्पर्कमा आउन नचाहने आदिवासीलाई हस्तक्षेप नगरिने नीतिमा परिमार्जन गर्न सकिने संकेतका रुपमा लिएका छन् । भन्न त डियाजले आफ्नो विगतको मिसिनरीको काम र अहिलेको नियुक्तिबीच केही सम्बन्ध नभएको बताएका छन् । ‘विगतको मिसनरीको कामलाई लिएर धेरै मानिस सशङ्कित छन् । मैले यो नियुक्तिलाई क्रिश्चियनाइज्ड गराउने अवसरका रुपमा लिएको छैन । मलाई हातमा बाइबल बोकेर त्यहाँ जाने रुचि छैन ।’ डियाजले भनेका छन् ।

यद्यपि आदिवासी संगठन तथा विज्ञले भने डियाजको विगतलाई मुल्याङ्कन गर्दै उनले मिसनरी सम्पर्क राख्ने काम रोक्ने छैनन् भन्ने निश्कर्ष निकालिरहेका छन् । डियाजले न्यु ट्राइब्स मिसनको मिसनरी भएर सन् १९९७ देखि सन् २००७ सम्म दस वर्ष अमाजनस राज्यका जाभारी उपत्यका मात्से आदिवासीबीच बिताएका थिए ।
त्यही जाभारी उपत्यकाको आदिवासी संगठन ‘युनियन अफ द इन्डिजिनियस पिपल्स अफ जाभारी भ्याली’ले भनेको छ , ‘आदिवासी भूमिमा धर्म प्रसार गर्ने घृणित काम डरलाग्दो छ ।’ डिजायको नियुक्तिलाई लिएर एफयुएनएआईकै एउटा विभागले भनेको छ , ‘डियाजर्ला एफयुएनएआईमा नियुक्त गर्नु एउटा डरलाग्दो चाल हो । यसले संकटोन्मुख आदिवासीमा अपुरणिय क्षति निम्त्याउनेछ ।’

हुनत भर्खरै न्यु ट्राइब्स मिसनले आफ्नो नाम बदलेको छ, सम्भवत उनीहरु विगतको खराब छवि लुकाउन चाहन्छन् । तर तिनको उदेश्य भने पहिलाकै हुनेछ । यिनीहरु सम्पर्कमा आउन नचाहने निर्जन भूगोलका आदिवासीमाथि हस्तक्षेप गर्दै त्यहाँ क्रिश्चियन धर्म फैलाउन चाहन्छन् । सन् १९४३ मा स्थापना हुदाँदेखि नै यिनको प्रमुख उदेश्य यही नै थियो । मे १९४३ मा प्रकाशित न्यु ट्राइब्स मिसनको आधिकारिक म्यागजिनमा उल्लेख गरिएको छ , ‘हामी यो कुरामा अडिग छौं कि जतिसुकै दुःख कष्ट सहेर पनि प्रभूको लागि आफ्नो जीवनको बाजी लगाएर संसारका सबैभन्दा अन्तिम ट्राइब्ससम्म हामी पुग्नेछौं, चाहे उनीहरु जुनसुकै कुनामा किन नहुन् ।’

यही कुरालाई लिएर एफयुएनएआईजस्तो आदिवासीको मुख्य संगठनको एउटा महत्वपूर्ण विभागमा डियाजलाई भित्राउनु भनेको ‘इथ्नोसाइडल ’ र ‘जेनोसाइडल’ आक्रमण गर्नु हो भन्ने धेरैको तर्क छ । इथ्नोसाइड भनेको कसैको संस्कृति र रहनसहननै नामेट पार्नु हो । ब्राजिलका आदिवासी समूहले न्यु ट्राइब्स मिसन सक्रिय भइसकेको सुचना दिसकेका छन् । फेब्रुअरीमै इथ्नो ३६० मिसनरी देनी आदिवासी क्षेत्रमा पुगिसकेको थियो । मानव अधिकार संघसस्थाले समेत ब्राजिलमा एकलासका आदिवासीको संकट बढ्दै गएको चेनावनी दिइसकेका छन् । यही मार्च २०२० को संयुक्त राष्ट्र संघ मानव अधिकार आयोगको बैठकमा अन्र्स आयोगकी कार्यकारी निर्देशक लाउरा ग्रिनहालले भनिन् ‘बोल्सोनारोको आक्रामक समाजिक तथा पर्यावरणीय नीतिका कारण अमेजनका आदिवासीको विनासले प्रशय पाएको छ ।’

अहिले ब्राजिलमा कोरोना भाइरस भित्रिँदा आदिवासी अस्तित्व झनै ठूलो संकटबाट गुज्रिदैछ । ब्राजिलमा संक्रमितको संख्या चार हजार नाघिसकेको छ । राष्ट्रपति बोल्सोनारो कोरोना संक्रमणलाई ‘फेन्टासी ’ को संज्ञा दिदैँ थिए । बोल्सोनारो आफँैलाई कारोना संक्रमण भएको कुरा बाहिर आएको थियो । फेरी नतिजा नेगेटिभ देखियो भनियो । त्यसो त उनकै प्रेस सल्लाहकार लगायत अन्य २३ सहयोगीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

फेडरल विश्वविद्यालय, डिपार्टमेन्ट अफ प्रिभेन्टभ मेडिसिनसँग मिलेर आदिवासी जनसंख्या तथा स्वास्थ्य क्षेत्रमा कार्यरत डगलस रोड्रिगुइजले निर्जन आदिवासीमा तत्कालै कोरोना संक्रमणको ठूलो जोखिम रहेको चेनावनी दिइसकेका छन् । उनी भन्छन् ‘दादुरा र ठेउला जस्ता सामान्य संक्रमणले थुप्रै रेड इन्डियन मारेको छ, सबैभन्दा घातक चाँही श्वासप्रश्वासजन्य महामारी नै हुन् । त्यसमा पनि कोरोना भाइरस सबैभन्दा विकराल बन्न सक्छ ।’

द्रुत गतिमा फैलिएको कोभिड–१९ बिरुद्ध लड्न न्युन लगानीको ब्राजिलको स्वास्थ्य संयन्त्र निश्चयनै कमजोर छ । त्यसमाथि निर्जन भुमीमा बस्ने अमेजन आदिवासीको बोल्सोनारोको मातहतको स्वास्थ्य सेवामा पहुँच हुने कुरै भएन । सम्पर्कमा आउन नचाहने यि आदिवासी पश्चिमा महामारीको जोखिममा छन् । यस्तो विषम परिस्थिति यदी त्यहाँ इथ्नो ३६० जान्छ भने त्यसले भयावह परिणाम निम्त्याउनेछ । फोटोः उस्लेइ मार्सेलिनो, रोयटर्स ।

(ब्रान्डफोर्ड ब्रिटिस पत्रकार तथा ब्राजिललाई कर्मथलो बनाएकी प्रसिद्ध पर्यावरण संरक्षणकर्मी हुन् ।) मोङ्गबेडटकमबाट



प्रतिक्रिया दिनुहोस्