Logo

विकासको साझेदार नेपाललाई बनाउन आग्रह : गृहमन्त्री थापा



काठमाडौँ, ५ चैत : गृहमन्त्री रामबहादुर थापाले नेपाल र भारतबीच शताब्दीऔं देखिको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ र विश्वसनीय बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

गृहमन्त्री थापासँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आज गृह मन्त्रालयमा गर्नुभएको भेटवार्तामा उहाँले सुरक्षा निकायको तालीम, भौतिक सामग्रीलगायत नेपालको विकासमा गर्दै आएको सहयोगप्रति भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

मन्त्री थापाले भारत सरकारको सहयोगमा काभ्रेपलाञ्चोकमा बन्न लागेको नेपाल प्रहरीको तालीम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन भारतीय राजदूतलाई आग्रह गर्दै नेपालको विकास र समृद्धिमा भारतीय सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल र भारतबीचको खुला सीमाको फाइदा अपराधिक तत्वले नउठाउन भनेर दुवै देश सचेत हुनु आवश्यक रहेको बताउँदै उहाँले भारतले तीव्र रुपमा गरिरहेको विकासको साझेदार नेपालाई पनि बनाउन आग्रह गर्नुभयो ।

मन्त्री थापाले अहिले भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न उपयुक्त अवसर रहेको पनि बताउनुभयो ।

सो अवसरमा राजदूत पुरीले नेपाल र भारतबीचको सम्बन्धलाई कसैले चाहेरपनि बिगार्न नसक्ने बताउँदै गृहमन्त्री थापालाई भारत भ्रमणका लागि आग्रहसमेत गर्नुभयो ।

नेपाल प्रहरीको तालीम केन्द्र निर्माण कार्यलाई तीव्रता दिन आफूले पहल गर्ने, सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन र तालीमका लागि सहयोग गर्न भारत सरकार तयार रहेको उल्लेख गर्दै उहाँले नेपालमा सुरक्षाको प्रत्याभूति भए ठूलो मात्रामा लगानी गर्न भारतीय व्यवसायी तयार रहेको बताउनुभयो ।

सो भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका विविध पक्षमा केन्द्रित रहेको जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्