काठमाडौँ, १४ वैशाख । पत्रकार नारायण ढुङ्गानाले पूर्वाञ्चल विश्वविद्यालयबाट ‘गोल्ड मेडल’ प्राप्त गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दिक्षान्त समारोहमा उनलाई उक्त पदक प्रदान गरिएको हो । विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याएका ढुङ्गानालाई सो पदक प्रदान गरेका हुन् ।
कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२०’का छात्र ढुङ्गानाले जिपिए तीन दशमलव ७५ अङ्क ल्याएका थिए । चितवन घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका उनी २० वर्षदेखि पत्रकारितामा संलग्न छन् । राससमा कार्यरत ढुङ्गानालाई आज विश्वविद्यालय परिसर सुन्दर हरैचामा सम्मान गरिएको हो ।