अस्ट्रेलियामा रहेको बुनेशा इन्टरनेशनलका धेरै ‘प्रोडक्ट’मध्ये नार्कोसी डट कम एउटा हो । यसका प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व गरिरहनुभएका खेम शर्माको अस्ट्रेलिया बसाइ, सूचना प्रविधि उद्योगमा योगदान र उहाँले नेपालमा सुरु गर्नुभएको सरसफाइ अभियानबारे बिरलै नागरिकलाई जानकारी होला । नार्कोसी डट कमको स्लोगन नै छ ‘अ बिग न्युज गेट वे ।’ अर्थात् यो ठूलो समाचारको ढोका हो । हाल यो पोर्टलमार्फत नेपाली भाषाका सबै समाचार अनलाइनमा पुग्न सकिन्छ । सँगसँगै यो मिडिया र पाठकबीचको पुल पनि हो । यो गेटवेबाट पाठकले आफूले रुचाएका नेपाली भाषाका समाचार, विचार र विश्लेषण पढ्न, सुन्न अनि हेर्न सक्छन् । साथै मिडियाले आफूले चाहेको पाठक पनि यो गेटवे मार्फत पाउँछन् । यसको पछिल्लो सेवाको रूपमा नार्कोसी भिडियो हो । अहिले नार्कोसीमा युट्युबमा अपलोड भएको कुनै पनि नेपाली भाषाको भिडियो केही मिनेटमै हेर्न सकिन्छ ।
नार्कोसी जस्तो यो अनौठो नामको अर्थ केही छ कि ? भन्ने जिज्ञासामा खेम प्रतिप्रश्न गर्नुहुन्छ– ‘हाम्रो कामको चर्चा गरिसकेपछि यसको नामको अर्थ खोजिरहनुपर्ला र ? अहिले गुगलको अर्थ के हो भनेर कसैले सोध्दैन । याहु भनेपछि सबैले बुझ्छन् । हामी पनि नार्कोसीको कुनै पूर्व अर्थ खोजिरहेका छैनौं । अहिले हाम्रो ‘लोगो’मा उपभोक्ताको नजर लाग्नेबित्तिकै ‘अ बिग न्युज गेट वे’ भन्ने छाप बसिसकेको छ ।
त्यसैले हामी पहिले नै नामको अर्थ खोज्नतिर लागेनौं । यो शब्दको नेपाली वा अन्य भाषाको शब्दकोषमा केही पुरानो अर्थ छ कि छैन हामीलाई थाहा भएन तर अब यो नामको एउटा अर्थ अब शब्दकोषमा लेखिन्छ होला’ खेम भन्नुहुन्छ– ‘नामको अर्थ खोज्ने काम हामी हाम्रा उपभोक्तालाइ नै दिन्छौं । नार्कोसी डट कम अहिले नेपाल र अस्ट्रेलियाबाट सञ्चालन हुन्छ । दक्ष सूचना प्रविधि इन्जिनियर सूचना विश्लेषकको समूहले यो सञ्चालन गर्छ । यसको पछाडि दक्ष व्यवस्थापकको समूह पनि छ । सूचना प्रविधि, सूचना विश्लेषण र व्यवस्थापनको क्षेत्रमा खारिएका कुशल व्यक्तित्वको ठूलो समूहले नार्कोसी सेवालाई विश्वभरिका पाठक, श्रोता र दर्शकसम्म पु¥याएको छ ।’
उसो त सञ्चालकको समूह नेपाली भएकोले पहिलो रुचि र आविष्कार नेपाली भाषाको सेवाका लागि नै भयो । ‘हामी नेपाली भएकाले पहिलो सेवा नेपाली भाषा, संस्कृति र सभ्यताको सेवा गर्नुपर्छ भन्नेमा हाम्रो साझा सहमति भयो’ उहाँ दाबी गर्नुहुन्छ– ‘अहिले नार्कोसीका धेरै सुबिधा नेपाली भाषामै छन् । हामीले चरणबद्ध रूपमा अन्य भाषामा पनि सेवा दिने तयारी गरेका छौं ।’ अन्य भाषाका लागि भने केही समय कुर्नुपर्ने हुन्छ । तर, अंग्रेजी भाषामा भने अहिले पनि यो सेवाको केही अंश सञ्चालनमै छ ।
पहिले नेपाल र नेपालीको लागि नेपाली भाषामाथि पूर्ण पहुँच बनाएपछि हिन्दी तथा चिनियाँ भाषातिर सेवा विस्तारमा लाग्ने खेम शर्माको योजना छ । हालै प्रेस काउन्सिल नेपालसँग पनि सहकार्य सुरु भएको छ नेपाली भाषाका अनलाइन समाचार सामग्रीको क्लिपिङको लागि । यो नार्कोसी डट कमको नेपाली पत्रकारिता क्षेत्रको लागि योगदान नै हो । हाल अस्ट्रेलियाको व्यस्त व्यापारिक शहर सिड्नीको मुख्य भाग वल्र्ड तावोरमा कार्यालय राखी नजिकै बसोबास गरिरहनुभएका उहाँ यसबाहेक अन्य गतिविधिमा पनि व्यस्त हुनुहुन्छ ।
अस्ट्रेलियामा उहाँको सम्पर्कमा आउने हरेक विशिष्ट नेपाली पाहुनासँग उहाँको धेरै समय बित्छ । यसबाहेक उहाँको अस्ट्रेलिया र नेपालमा सेवामूलक व्यवसाय पनि छ । अस्ट्रेलियामा सरसफाइ कम्पनी छ भने नेपालमा सरसफाइका क्षेत्रमा स्वयंसेवी काम गरिरहनुभएको छ । अस्ट्रेलियामा उहाँकै नामको ‘खेम्स क्लिनिङ’ नामक कम्पनीमा अहिले ६० जना नेपाली काम गर्छन् । अस्ट्रेलियाको सिड्नी, मेलबर्न र क्रेंसका ठूला होटेल, रेस्टुराँ र कार्यालयले उहाँलाई विश्वास गरेका छन् । विगत एक वर्षदेखि नेपालमा सुरु गरेको स्वयंसेवी कामको चर्चा अब संसारभरका नेपालीबीच स्थापित भइसकेको छ र नेपाल सरकारका पर्यटन मन्त्रीले उहाँसँग काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको अत्याधुनिक तरिकाले सरसफाइको ट्रेन बसाउनका लागि छलफल गर्नुभएको छ । खेम भन्नुहुन्छ– मन्त्रालयबाट ठोस निर्णय आएको दुई सातामा नै काम सुरु गर्छौं र त्यसको एक महिनामा हामी नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अनुहार फरक बनाउन सक्छौं ।’
सुरुमा नेपालको चितवन जिल्लालाई केन्द्र बनाएर उहाँले सरसफाइ अभियान सुरु गर्नुभएको हो । अहिले भरतपुर विमानस्थलको रूप नै फेरिएको छ । गत वर्षदेखि उहाँले त्यहाँको सरसफाइ गरिरहनुभएको छ । त्यस्तै चितवन जिल्ला प्रशासन कार्यालयको पनि सरसफाइ सुरु भइसकेको छ । यो अभियानमा साझेदारी गर्न उहाँले अस्ट्रेलियामा भएका विभिन्न संघसंस्थालाई आह्वान पनि गर्नुभएको छ । गैर आवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट र अस्ट्रेलियाका कोषाध्यक्ष दिला खरेललगायत खेमको अभियानमा सरिक भइसक्नुभएको छ । यो अभियानको पृष्ठभूमिचाहिँ के हो त ? खेम भावुक हुँदै भन्नुहुन्छ– ‘प्रसंग १० वर्षअघिको हो । जव म भविष्यको खोजीमा विद्यार्थीको रूपमा अस्ट्रेलिया गएँ त्यो त्यहाँ पाउने पहिलो काम भनेकै सरसफाइको थियो ।
यो सुरुमा अप्ठ्यारो भए पनि दैनिक जीवन सञ्चालनमात्र होइन– विश्वविद्यालयको शुल्क तिर्न पनि निकै सहयोगी बन्यो । श्रमलाइ सम्मान गर्ने र आफ्नो मूल लक्ष्य अध्ययनलाई सघाउ पुग्ने भएपछि मलाई यो पेशाप्रति गर्व लाग्न थाल्यो ।’ यही पेशाले खेमजस्तै हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीलाई जीविकोपार्जनका साथै विश्वविद्यालयको महँगो शुल्क तिर्न सहयोग गरिरहेको छ । खेम पटक÷पटकको नेपाल यात्राका क्रममा के कसरी यो काममा अघि बढ्न सकिन्छ भनेर धेरै अध्ययन–अनुसन्धान गर्नमा व्यस्त रहनुभयो । र त आफू जन्मेको देशलाइ माया गर्ने र पेशालाई पूजा गर्ने भएकाले आफ्नो सीप–ज्ञानलाई देशको विकासमा समर्पित गर्न आतुर हुनुहुन्छ । अहिले उहाँसँग ज्ञान, अनुभव, जनशक्ति, धेरथोर धन अनि पर्याप्त आत्मविश्वास छ । फेरि आधुनिक भवन, सेवाग्राहीको लस्कर, तर फोहरको डंगुरमाथि बसेर काम गर्नु कुनै पनि हिसाबले सभ्यता झल्कँदैन भन्ने उहाँको मान्यता छ ।
त्यसो त संसारका सबै विकसित देश सफा छन् हाम्रो देश विकासको गतिमा अघि बढ्दै गर्दा सरसफाइमा नयाँपन, आधुनिक र वैज्ञानिक तरिका नअपनाउने हो भने हामीले संरचना निर्माणमा गरेको करोडौं खर्च मूल्यहीन हुन्छ । भवनको भित्री तथा बाहिरी सरसफाइले उक्त भवनका सेवाग्राहीलाई स्वस्थ बनाउनेमात्रै होइन– सेवाकर्मीलाई सभ्य पनि बनाउँछ । आधुनिक सिंगापुरका निर्माता लि कवा नविले सिंगापुरको विकासको लागि आफ्नो पहिलो अभियान सरसफाइलाई बनाउनुभएको थियो । अहिले सिंगापुर सुन्दर सहरमा गनिन्छ । हामीकहाँ पनि बेला÷बेला राजनीतिक दलका नेताले र केही पूर्व उच्च अधिकारीले सहर सफा राख्ने अभियान चलाएका थिए उनीहरु सरकारमा हुँदा सञ्चालनमा आएका ती अभियान अहिले अलमलमा छन् ।
सरसफाइका न्यूनतम मापदण्ड र नियम पालना नगरी कामचलाउ तरिकाले गरिने सरसफाइले झन समस्या ल्याउन सक्छ । मानिसको दैनिक बसोबास हुने घर, कार्यालय, त्यहाँ भएका शौचालाय, धारा, भान्साको उचित सरसफाइ र त्यहाँ जम्मा हुने फोहरमैलाको उचित व्यवस्थापनविना सरसफाइको कुनै अर्थ हुँदैन खेम भन्नुहुन्छ– ‘हामी दैनिक प्रयोगका घर तथा कार्यालयको आन्तरिक सरसफाइमा पर्याप्त ध्यान दिँदैनौ तर बाटो–घाटो, नदी–पोखरीको सरसफाइको कुरा गर्छौं र कहिलेकाहीँ त सरसफाइ नभएकोमा सरकारलाई गाली गर्छौं जुन राम्रो कुरा होइन ।’ अब सबै कुराको लागि सरकारलाइ ताक्ने होइन कि बरु हाम्रो सेवाका लागि बनेका सरकारी भवनको आफ्नै ज्ञान, अनुभव र लगानीबाट सरसफाइको चेतना ल्याउने तयारीमा हुनुहुन्छ उहाँ । ‘घर, कार्यथलो अनि समाजको सरसफाइ गर्नेभन्दा ठूलो सेवा–योगदान अरु के नै हुन सक्छ र ?’ उहाँको प्रश्न छ ।