Logo

निर्वाचनपछिमात्रै बजेट ल्याउन सरकारलाई लिखित पत्र पठाईसक्यौं : प्रमुख निर्वाचन आयुक्त यादव



काठमाडौं, ११ बैशाख । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्रै बजेट ल्याउनको लागि सरकारलाई आयोगले लिखित रुपमा आग्रह गरिसकेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले बताएका छन् ।

निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । प्रमुख आयुक्त यादवले भने,‘देशको विकासको लागि बजेट आवश्यक चाहिन्छ, बजेट समयमै आओस् भन्ने पक्षमा हामी पनि छौं, सहमति गर्नुहोस् भनेर सरकारलाई भनिसकेका छौं, हामीले त चुनावपछि बजेट ल्याउनुहोस् भनेर लिखित रुपमा आग्रह गरिसकेका छौंं ।’

उनले चुनावमुखी बजेट रोक्ने पक्षमा आयोग रहेको समेत स्पष्ट पारे ।

त्यस्तै दोस्रो चरणको स्थानीय तह निर्वाचको उम्मेदवारी दर्ता जेठ १९ गतेसम्म तोकेको छ । सरकारले आइतबार मात्र दुई चरणमा चुनाव गर्ने निर्णय गर्दै जेठ ३१ को मिति तोकेको थियो । जस अनुसार प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव हुनेछ ।

दोस्रो चरणको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । जेठ १९ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ भने उम्मेदवारहरुलाई जेठ २२ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

त्यस्तै उनले मतदान सकिएपछि त्यही दिन साँझ ५ बजेपछि मतदान अधिकृतले मतगणना सुरु गर्ने पनि निर्णय सुनाए । उनले भने,‘निर्वाचन भएकै दिन मतगणना गर्छौं, अब कुरेर अर्को दिनसम्म राख्न सकिँदैन्।’

यादवले चुनाव स्वतन्त्र र निश्पक्ष हुने समेत दाबी गरे । त्यस्तै उनले अब दलीय चुनावव चिन्ह कसैलाई पनि प्रदान गर्न नसकिने बताए । उनले भने,‘न बाबुराम भट्टराईलाई दिन्छौं, न त र नवगठित राष्ट्रिय जनता पार्टीलाई, संविधानले निर्दिष्ट गरेको कुरा हामी पालना गर्छौं ।’

त्यस्तै निर्वाचन दुई चरणमा हुने भएसँगै निर्वाचनको खर्च बढने समेत उनले बताए । उनले भने,‘हामी पैसा माँग्छौं ।’



प्रतिक्रिया दिनुहोस्