Logo

भोलि नै संशोधन प्रस्ताव निर्णयार्थ पेश नगरे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने राजपाको चेतावनी



काठमाडौं, ३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजपाका शीर्ष नेताहरुवीचको बैठक सम्पन्न भएको छ ।

बिहीबार साँझ भएको बैठकमा राजपाका नेताहरुले भोलि नै संविधान संशोधन प्रस्ताव पारित गराउनुपर्ने र मोर्चाका कार्यकर्ताहरुको रिहाई, मुद्दा फिर्ता गर्नुपर्ने, सहिद घोषणा गर्नुपर्ने र स्थानीय तहको संख्या थप्नुपर्ने माँग राखेका थिए ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै राजपाका शीर्ष नेता राजेन्द्र महतोले संशोधन प्रस्ताव पारित नभए मोर्चा कुनैपनि निर्वाचनमा भाग नलिने चेतावनी दिए । उनले भने,‘हामीले प्रष्ट रुपमा भनिसकेका छौं, हाम्रा माँगहरु पूरा नभए हामी निर्वाचनमा भाग लिँदैनौं, हामीलाई पनि निर्वाचनमा भाग लिने वातावरण बनाउनुपर्यो नि, अब बल सरकारको कोर्टमा छ।’

नेता महतोले प्रधानमन्त्री दाहालसँग राखेका माँगहरु नै आफूहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि राखेको जानकारी दिए । भेटमा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा दुवैले आफूहरुका माँग सम्बोधन गर्छौं भनेर प्रतिबद्धता जनाएको जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले राजपाका नेताहरुले राखेका माँगहरुमा सरकार गम्भिर रहेको बताउँदै प्रधानमन्त्रीले चाँडै संशोधन प्रस्ताव अघि बढाउने प्रतिबद्धता जनाएको बताए ।

उनले भने,‘प्रधानमन्त्रीले निर्वाचनमा सहभागी हुनेबारे राजपाका नेताहरुलाई आग्रह गर्नुभएको थियो, उहाँहरुले पनि निर्वाचनमा जाने प्रतिबद्धता जनाउनुभएको छ, तर उहाँहरुका माँगहरु सम्बोधन गर्नुपर्ने जो अडान छ, त्यसमा हामी गम्भिर नै छौं।’



प्रतिक्रिया दिनुहोस्

Screenshot