Logo

इरानको राष्ट्रपतीय निर्वाचनमा रुहानी नै अगाडि



तेहरान, ६ जेठ । इरानमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति हसन रुहानी नै निकै अगाडि देखिनुभएको छ ।

निर्वाचन आयोगका प्रमुखले शनिबार आधा भोट गणना गर्दासम्म उहाँ नै अगाडि देखिनु भएको जानकारी दिनुभयो ।

इरानको सरकारी टेलिभिजनले दुइ करोड ५९ लाख मतगणना हुँदासम्म रुहानीले एक करोड ४६ लाख मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी इब्राहिम रैसीले एक करोड एक लाख मात्रै मत प्राप्त गर्नुभएको जनाएको छ ।

मतदान गर्ने समय बढाएर मध्यरातसम्म तय गरिएकाले अप्रत्याशितरुपमा भारी मत खसेको बताइएको छ । निर्वाचनमा झन्डै चार करोड मत खसेको अधिकारीले बताएका छन् ।

मतदाताको सहभागीता नटुङ्गीएकाले मतदान गर्ने समय बढाइएको सरकारी अधिकारीको भनाइ छ ।

चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रपति रुहानीले इरानलाई दूरदृष्टि र मध्यमार्गी विचारधाराअनुसार लैजाने प्रतिबद्धता जनाउनु भएको थियो । ६८ वर्षीय रुहानी एकजना सुधारवादी तथा मध्यमार्गी नेताका रुपमा चिनिनुहुन्छ । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्