Logo

नीति तथा कार्यक्रम आउन दिने तर प्रधानमन्त्री चयनमा अवरोध गर्ने एमालेको रणनीति



काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याउने नीति तथा कार्यक्रममा कुनै अवरोध नगर्ने भएको छ ।

हालै सरकारले स्थानीय तहको संख्या थपेको विषयलाई लिएर एमालेले लगातार संसद अवरुद्ध गरिरहेको छ। एमालेको अवरोधका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा राजिनामा दिन पाएका थिएनन् । उनले हिजोमात्रै प्रधानमन्त्री कार्यालयबाट विशेष सम्बोधन गरेर पदबाट राजिनामा दिईसकेका छन् । उनको राजिनामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजै स्विकृत भैसकेको छ।

एमालेले सरकारले आज ल्याउने नीति तथा कार्यक्रममा कुनै अवरोध नगरेपनि प्रधानमन्त्री चयन गर्ने प्रक्रियामा भने अवरोध कायमै राख्ने बुझिएको छ। स्रोतका अनुसार एमालेसहित विपक्षी गठबन्धनले तत्काल नयाँ प्रधानमन्त्री चयन गर्न नदिने भएको छ। स्रोतले भन्यो,‘नयाँ प्रधानमन्त्री चयन गर्ने बेलामा एमालेले अवरोध कायम राख्छ, उसले कुनैपनि हालतमा नयाँ प्रधानमन्त्री गर्न नदिने रणनीति बनाएको छ।’

एमालेको भित्री चाहना भनेको नै यही काम चलाउ सरकारले जेठ ३१ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन गरोस भन्ने हो । एमालेले यही तरिकाले संसद अवरुद्ध गरिरहे नयाँ प्रधानमन्त्री चयन गर्न निकै कठिन हुनेछ । प्रचण्डले कांग्रेससँग भएको भद्र सहमतिका आधारमा नै हिजै पदबाट राजिनामा दिएका हुन् । अबको प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा बन्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot