Logo

सहमतीय सरकारका लागि राष्ट्रपतिको आह्वान



काठमाडौँ, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएपछि नयाँ प्रधानमन्त्री चयनका लागि आज राष्ट्रपतिले आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा २९८ को उपधारा (२) मा सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्ने व्यवस्था रहेअनुसार राष्ट्रपतिले आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

राष्ट्रपतिले यही जेठ १८ गतेसम्म सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि दलहरुलाई आह्वान गर्नुभएको हो । सहमतीय प्रक्रिया अगाडि बढ्न नसकेका खण्डमा मात्रै बहुमतीय प्रक्रियामा अगाडि बढ्ने संवैधानिक व्यवस्था छ ।

जारी विज्ञप्तीमा भनिएको छ,‘‘आज मिति २०७४ साल जेठ ११ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्‌को गठन गर्नको लागि व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ ।’’

 



प्रतिक्रिया दिनुहोस्