Logo

संघीय गठबन्धनद्धारा चुनाव विथोल्नेसम्मको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक- विज्ञप्तीसहित



काठमाडौं, १२ जेठ  । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसहितको संघीय गठबन्धनले जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बहिस्कार गर्ने निर्णय गर्दै थरुहट/मधेस बन्दसहितको आन्दोलनको घोषणा गरेको छ ।

बिहिबार दिउँसो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी गठबन्धनले  दुई दिनसम्म थरुहट तथा मधेस बन्द गर्नेसहितको आन्दोलनको घोषणा गरेको हो ।


घोषित कार्यक्रमअनुसार जेठ १३ गते सबै स्थानीय तहमा मसाल जुलुस गर्ने , १४ गते लाठी जुलुस प्रदर्शन गर्ने, १५ गते गणतन्त्र दिवसको दिन श्रद्धाञ्जली सभा आयोजना गर्ने, १६ गते स्थानीय तहका निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने र १७ गते मलास जुलुस निकाल्ने तय गरिएको छ । यस्तै जेठ १८ र १९ गते थरुहट र मधेस बन्द गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दोस्रो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत जेठ १९ गते मनोनयन दर्ता गर्ने दिन तय गरिएकोमा सोहि कार्यक्रमलाई प्रभावित पार्ने गरी गठबन्धनले बन्दको आह्वान गरेको हो ।

यसअघि बिहिबार बिहान बसेको राजपाको बैठकले आन्दोलनमा जाने निर्णय गर्दै सो निर्णयलाई गठबन्धनको बैठकले अनुमोदन गरी पत्रकार सम्मेलनबाट सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा यो पहिलो चरणको आन्दोलनको घोषणा गरिएको र १९ गतेपछि थप सशक्त आन्दोलनको घोषणा गरिने जानकारी दिइयो । राजपाले संविधान संशोधन हुनुपर्ने, तराई मधेसमा स्थानीय तहको संख्या जनसंख्याको आधारमा निर्धारण गरिनु पर्ने, चुनाव लड्नको लागि दल दर्ता र निर्वाचन चिन्ह पाउनु पर्ने जस्ता प्रमुख माग राख्दै आएको छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्