Logo

ढुक्क हुनुहोस्, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ : खनाल



काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले प्रमुख दल कांग्रेससँगको सहमति अनुसार नै प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएको स्पष्ट पारे । उनले अब कांग्रेस सभापति शेरबहादुर देउवा केही दिनभित्रै प्रधानमन्त्री बन्ने समेत विश्वास व्यक्त गरे ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खनालले प्रचण्ड नेतृत्वको सरकारले विगतमा गरेका प्रतिबद्धता अनुसार नै काम गरेको र कतिपय प्रतिबद्धताहरु भने पूरा गरेको समेत जिकिर गरे । उनले भने,‘अहिले जुन सरकार आएपनि यसको पहिलो जिम्मेवारी भनेको नै संविधान कार्यान्वयन हो, भर्खरै स्थानीय तहको निर्वाचनको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, यसले संविधान कार्यान्वयनको दिशामा मुलुकलाई अघि बढाएको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कांग्रेस र माओवादी केन्द्रवीच भएको सहमति अनुसार नै अब कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बन्ने र यसको प्रक्रिया समेत सुरु भैसकेको जनाए । उनले भने,‘विगतमा भएका भद्र सहमतिहरु पालना भएका थिएनन्, चाहे सुशिलजी र ओलीजीको बीचमा भएको सहमति होस्, चाहे ओलीजी र प्रचण्डजीबीच भएको सहमति नै किन नहोस्, तर यो पटक हाम्रो नेतृत्वले सहमतिको खडेरीलाई तोडेको छ।’

उनले आफ्नो पार्टीको लागि चुनावी परिणाम अर्थात गणित सामान्य भएको भन्दै पहिलेपनि आफूले रिपोर्टर्स क्लबको साक्षात्कारमा पटक पटक बोलेको स्मरण गराउँदै भने,‘हाम्रो पार्टीको लागि चुनावी परिणाम अर्थात गणितले केही फरक पार्दैन, तर चुनाव हुनुपर्यो र हामी जसरी पनि चुनाव गराउँछौं भनेर मैले यही क्लबको कार्यक्रममा भनेको हुँ, पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनको दिशामा मुलुक अघि बढेको छ ।’

उनले अहिलेको मुलुकको प्रमुख समस्याको जरो नै प्रमुख प्रतिपक्षी दल र संविधान मान्दैनौं भन्नेहरुवीचको लडाई भएको स्पष्ट पारे । उनले भने,‘तर सरकारले उहाँहरुकावीचमा समन्वय र मध्यस्थताको काम गरिरहेको छ।’ उनले सरकारले संविधान संशोधनको लागि अथक प्रयास गरेको भएपनि संशोधन प्रस्ताव पारितको लागि पर्याप्त गणित नहुँदा समस्या रहिरहेको बताए । उनले भने,‘सदनको बनोट यस्तो छ कि, कहिलेकाहीँ संशोधन प्रस्ताव पारितको लागि दाहिने वा बाहिने गर्दा महाअभियोगजस्ता कुराहरु आउँछन् ।’

उनले मधेशको समस्या समाधानको लागि सबैले गम्भिर भएर सोच्नुपर्ने समेत बताए । उनले भने,‘संविधान संशोधनको लागि प्रयासहरु भएकै हुन्, तर पास हुने गणित नभएका कारण यो रोकिएको हो, अहिलेपनि यसको लागि प्रयासहरु भैरहेका छन्, सकेसम्म चुनाव अघि नै संशोधन पारित गराऔं, यदि नसकिने भयो भने पनि मोर्चाले चुनावमा जानुपर्छ तर यी मुद्दाहरुलाई नछोडौं, मुद्दाहरु पनि चुनावमा लिएर जाऔं ।’

उनले अहिले कानूनका ज्ञाताहरुले राजनीतिको कुरा गर्ने र राजनीतिका ज्ञाताहरुले कानूनको कुरा गर्ने समस्यापनि देखिएको गुनासो पोखे । उनले भने,‘यी दुवैलाई सन्तुलनमा ल्याउनुपर्छ, एउटाले गर्नुपर्ने काम अर्कोले गरिदिने भैरहेको छ।’

खनालले मुलुक चुनावको माहोलमा अघि बढिसकेकोले अब कुनैपनि हालतमा निर्वाचन नरोकिने जिकिर गरे । उनले भने,‘मधेशको समस्या पनि समाधान गर्नुपर्छ, तर चुनाव रोकिँदैन्।’

उनले चुनाव गर्नको लागि बरु सरकार पटक पटक बदलेर भएपनि चुनाव गरिने स्पष्ट पारे । उनले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि संविधान संशोधनको लागि आफूहरु गम्भिर र सकारात्मक रुपमा सोच्न तयार रहेको बताएकोले चुनावपछि समस्याको समाधान हुन्छ कि भन्नेमा आफू विश्वस्त रहेको बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्