Logo

जसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन भएपनि हामीलाई आपत्ति हुँदैन् : एमाले



काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता आनन्द पोखरेलले अहिलेको मुलुकको जटिलता र चूनौतिहरुको मुख्य सर्जक नै कांग्रेस, माओवादी केन्द्र र मधेशवादी दलहरु रहेको आरोप लगाए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मुलुकको अहिलेको समस्याको मुख्य सर्जक नै कांग्रेस, माओवादी र मधेशवादी दलहरु ह्ुन, हामी होईनौं ।’ पोखरेलले संविधान कार्यान्वयन गर्ने बेलामा जोरजबरस्ती रुपमा संविधान संशोधनको कुरा गरेर मुलुकलाई समस्यामा फसाउने काम भएको भन्दै आफूहरु यसको विरोधमा रहेको स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता पोखरेलले मधेशी मोर्चालाई चुनावमा सहभागी गराउनको लागि यसअघि नै स्थानीय तहको संख्या वृद्धि गरिसकेको समेत जिकिर गरे । उनले भने,‘आयोगले सिफारिश गरेको संख्या ७१९ थियो, पछि त्यसलाई बढाएर हामीले ७४४ पुर्याऔं, प्रयत्न त भएकै हो नि।’

उनले अहिले स्थानीय तह कानुन समेत बनिसकेको अवस्थामा कुनैपनि स्थानीय तहको संख्या नै थप्न नमिल्ने जिकिर गरे । पोखरेलले भने,‘तर उहाँहरुले (सत्तारुढ दलले) जबरजस्ती संख्या थप्नुभयो, हिजो सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ, हाम्रो पार्टी यसको स्वागत गर्छ ।’

उनले आज सत्तापक्षले गल्ती सच्याउन तयार भएकोले सदन समेत सुचारु भएको बताए । उनले भने,‘दोस्रो चरणको निर्वाचनपछि हामी संविधान संशोधनमा छलफल गर्न तयार छौं, यदि कन्टेन्ट औचित्यपूर्ण छ भने हामी पारित गर्छौं।’

त्यस्तै उनले चुनावको मुखमा प्रधानमन्त्री प्रचण्डले राजिनामा दिनु नै गलत भएको आरोप लगाए । उनले भने,‘प्रचण्डजीको राजिनामा गलत समयमा आएको छ, यसले चुनावको वातावरण नै विथोल्ने थियो, तर हामीले सचकता अपनाएका छौं ।’ उनले कांग्रेस र माओवादी केन्द्रले सर्वदलीय सरकार गठनको लागि नचाहेको समेत आरोप लगाए ।

पोखरेलले भने,‘कांग्रेस र माओवादी केन्द्रवीच सट्टापट्टाको कागजमा हस्ताक्षर थियो, त्यही भएर उहाँहरु त्यही अनुसार सरकार गठन गर्नुहुन्छ, यदि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने हो भने पनि हामीलाई जसको नेतृत्वमा भएपनि कुनै आपत्ति छैन् ।’ उनले भारतले प्रचण्ड प्रधानमन्त्री बन्दापनि बधाई र खुशी हुने अनि प्रधानमन्त्रीबाट राजिनामा दिँदापनि खुशी बन्दा आफूहरु आश्चर्यमा परेको बताए ।



प्रतिक्रिया दिनुहोस्