Logo

कांग्रेसले मधेशी मोर्चालाई उक्साईरहेको छ : ओली



पोखरा, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले मधेशी मोर्चालाई उक्साईरहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘अहिलेको सरकार राजपा नियन्त्रित र निर्देशित छ, कांग्रेस र माओवादी देख्दा ठूला दल हुन्, तर, माउते राजपा नै हो।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राजपालाई बढी उक्साउने काम कांग्रेसले गरेकोमा आपत्ति जनाए । उनले निर्धारित समयभित्र दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न नहुँदासम्म राष्ट्रिय समहतिको विकल्प नभएको बताए ।

ओलीले राष्ट्रिय जनता पार्टी नेपाललाई मागपत्र राख्न लगाएर प्रचण्ड नेतृत्वको सरकारले दोश्रो चरणको निर्वाचन नगराउन चाहेको समेत आरोप लगाए । उनले अघि भने,‘अहिले सत्ताको एउटा घटक नै राजपा भएको छ, राजपालाई मागपत्र राख्न लगाउने काम कांग्रेस र माओवादीले गरेका छन्, तीनै माग पुरा गराउन सत्ता साझेदार दल लागिरहेका छन् ।’

उनले जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले भने,‘कुनै पनि बहानामा निर्वाचन रोकिन हुँदैन।’ संविधानको सफल कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot