Logo

संविधान संशोधनमा पहिलोपटक ओली लचक, भोलि नै सहमति पुग्ने संभावना



काठमाडौं, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक संविधान संशोधन प्रस्तावमा लचक बनेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा ओलीले संशोधनमा लचकता प्रस्तुत गरेका छन् । संविधान संशोधन, दोस्रो चरणको स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राजपाका नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।

ओलीले पहिलोपटक चार दलको बैठकमा संविधान संशोधन गर्नेबारे आफू सकारात्मक रहेको धारणा राखेको बैठकमा सहभागी राजपा नेपालका शीर्ष नेता अनिल झाले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

आईतबार साँझ बसेको बैठकले संविधान संशोधन विद्येयक र स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गर्नुभएको बैठकमा प्रधानमन्त्रीले यथास्थितिमा संविधान संशोधनका पक्षमा दुईतिहाई बहुमत पुग्न कठिन रहेको र स्थानीय तहको दोस्रो निर्वाचनको मिति नजिकै आएकाले निर्वाचनपछि संविधान संशोधन पारित गरेर अघि बढ्ने गरी निर्वाचनमा सहभागी हुन राजपाका नेताहरुलाई आग्रह गरेका थिए ।

बैठकमा राजपाका नेताहरुले आफ्नो मूख्य चासों प्राविधिक विषयमा भन्दा पनि संविधान संशोधनमै रहेकोमा जोड दिँदै संविधान संशोधन विद्ययेक पारित हुने वातावरण बनाउन प्रमूख तीन दललाई आग्रह गरेका थिए ।

छलफलमा प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन विद्येयकलाई अघि बढाउन सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए ।

बैठकले सहमतिमै राष्ट्रिय समस्याको सम्बोधन गर्नुपर्ने निष्कर्षसहित सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको छ । अनौपचारिक छलफलपछि छिट्टै दलहरुको बैठक बसेर सहमतिमा पुग्न कोशिस गरिने पनि सल्लाहकार खनालले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राजपाका संयोजक महन्त ठाकुर लगायतका शीर्ष नेताहरु सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्