Logo

काठमाडौंका मेयर तथा उपमेयरले एकै स्वरमा भने,‘काठमाडौंलाई स्वर्ग बनाउँछौं’



रिपोर्टर्स क्लबद्धारा नवनिर्वाचित मेयर तथा उपमेयर सम्मानित
काठमाडौं, १९ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरले काठमाडौं महानगरलाई धुलोरहित, धुवाँरहित बनाउने र सुन्दर र समृद्ध बनाउने विश्वास दिलाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको विशेष कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले मेयर तथा उमपेयरलाई फुलको माला तथा खादा लगाएर सम्मान गरेका थिए ।

सम्मानित भएपछि सम्बोधन गर्दै नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले आफूले बोलेको कुरा पूरा गरेरै छाड्ने बताए । उनले भने,‘म नसक्ने कुरा बोल्दिन्, सक्ने कुरा बोल्छु र बोलेका कुराहरु पूरा गराएरै छोड्छु ।’ शाक्यले काठमाडौं स्वर्ग रहेको बताउँदै यसलाई स्वर्ग बनाउनेतिर सबैको साथ र सहयोग रहे आफू काठमाडौंलाई समृद्ध बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

अपुरो छाडिएका सडक विस्तारलाई चाँडो पूरा गरिन्छ’

प्रमुख शाक्यले महानगरभित्र सडक विस्तारका क्रममा अपुरो छाडिएका कार्यलाई चाँडो पूरा गरिने बताए । महानगरलाई हरियाली बनाउने उद्देश्यले फोहर व्यवस्थापन तथा वृक्षारोपणलगायत कार्य सुरु गरिएको जानकारी दिए ।

शाक्यले मतदाताहरुले दिएको जिम्मेवारी आफूले कुनैपनि हालतमा पूरा गरेरै छाड्ने समेत बताए । उनले भने,‘मतदाताहरुले दिएको जिम्मेवारी पूरा गर्छु, हामीले कार्यभार सम्हालेलगत्तै महत्वपूर्ण ११ वटा निर्णयहरु समेत गरिसकेका छौं, समय अत्यन्तै थोरै छ, छोटो समयमापनि हामीले जनताको खासगरी महानगरवासीहरुको मन जित्नुपर्नेछ, बोलिसकेपछि ती सबै काम पूरा गर्नुपर्छ, म यो विषयमा अत्यन्तै संवेदनशील छु।’

उनले आफ्नो पहिलो प्राथमिकता नै धुलो र धुवाँरहित काठमाडौं भएकोले सोही अनुसार ‘क्लिन द सिटी’ अभियान सुरु भैसकेको समेत जानकारी दिए । शाक्यले भने,‘क्लिन द सिटी अभियान सुरु भैसकेको छ, हामी अब ३२ वटै वडामा यो अभियानलाई सुरु गर्छौं।’

उनले क्लिन द सिटी अभियानमा थुप्रै संघसंस्थाहरुले साथ दिने बताईसकेको समेत जानकारी दिए । शाक्यले भने,‘अहिले केही समय हामी आँफै काम गर्छौं।’
शाक्यले आफूहरुको लागि अभिनन्दनपनि बोझ भएको बताए । उनले भने,‘सम्मान तथा अभिनन्दपनि हाम्रो लागि ठूलो बोझ हो, जिम्मेवारी थपिएको छ।’

त्यस्तै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलेपनि महानगरलाई धुलो तथा धुवाँरहित बनाउने अठोट व्यक्त गरेकी छिन् । उनले मतदाताहरुले दिएको विश्वासलाई कुनैपनि हालतमा धोका नदिने विश्वास व्यक्त गरिन् ।

उनले जनताका जायज माँगहरु पूरा गराउनको लागि आफूले कुनै कसर बाँकी नराख्ने जिकिर गरिन् । उनले भने,‘महिला सशक्तिकरणको लागि उहाँहरुलाई क्रियाशील बनाउनको लागि काम गर्नेछु।’ उनले युवाहरुलाई स्वदेशमै राख्नको लागि आफूले प्रयास गर्ने समेत विश्वास दिलाईन् । उनले आफूहरुको यतिवेला मुख्य तीन वटा एजेण्डाहरु रहेको समेत स्पष्ट पारिन् ।उनका अनुसार धुलो र धुवाँरहित राजधानी बनाउने, महिला सशक्तीकरण र युवाहरुरुलाई स्वरोजगार सिर्जना गर्ने रहेका छन्।

उनले आफूलाई पार्टीको पूर्ण साथ र सहयोग समेत रहेकोले काम गर्न सजिलो हुने बताईन् । श्रेष्ठले मेयरसँग मिलेर काम गर्ने समेत विश्वास व्यक्त गरे ।

कामपा उपप्रमुख  खड्गीले पहिलो बैठकले नगरभित्रका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाअन्तर्गत सुविधा बढाएको जानकारी गराउँदै महिला सशक्तीकरण तथा युवा उद्यमशीलताका कार्यलाई प्राथमिकता दिइने प्रतिबद्धता गरिन् । उनले  ‘सहर सफा गराँै’ भन्ने अभियानलाई ३२ वटै वडामा विस्तार गरिने जानकारी पनि दिईन् ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले नवनिर्वाचित मेयर तथा उपेमयरलाई आफूहरुले बोलेको कुराहरु पूरा गर्नको लागि आग्रह गरे ।  उनले भने,‘तपाईहरुले जनतासँग गरेका सबै वाचाहरु पूरा गर्नुपर्छ, अब भाषण होईन, विकास गर्नुहोस्, काठमाडौं शहरलाई पूर्नजिर्वित गर्नुपर्छ, यसको गुमेको शाखलाई पूनः ल्याउनुपर्यो, काठमाडौंलाई सँधै हराभरा र समृद्ध बनाउन यहाँहरुलाई दिनरात मेहनत गर्नुपर्ने बेला आएको छ, क्लबको सँधै यहाँहरुलाई साथ र सहयोग रहन्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot