Logo

माओवादीबाट आठ, एमालेबाट सात र काँग्रेसबाट दुई तहमा उम्मेदवारी



सल्लेरी (सोलुखुम्बु), जेठ १९ । नेकपा (माओवादी केन्द्र)ले जिल्लाका सम्पूर्ण स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ ।

आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले एक नगरपालिकासहित सात गाउँपालिकाका प्रमुख र उपप्रमुख सर्वसहमतिमै टुङ्ग्याएको हो । यहाँको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिका प्रमुखमा ङिमातेण्डुप शेर्पा र उपप्रमुखमा ङिमाडोमा शेर्पाको उम्मेदवारी गत चैत २१ गते पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख उपस्थितिमा उम्मेदवारी सार्वजनिक गरिएको हो ।

यस्तै दूधकोसी गाउँपालिका प्रमुखमा आसकुमार राई र उपप्रमुखमा निरकुमारी राई, लिखुपिके गाउँपालिका प्रमुखमा डम्बरबहादुर बस्नेत र उपप्रमुखमा प्रमिला बस्नेत, दूधकोसीका गाउँपालिका प्रमुखमा असिम राई र उपप्रमुखमा मेनुका पुरीको उम्मेदवारी घोषणा गरिएको छ । सोताङ गाउँपालिका प्रमुखमा सौमान राई र उप्रमुखमा तारा राईलाई सर्वसहमतिमै उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्रले गरेको छ ।

यस्तै महाकुलुङ गाउँपालिका प्रमुखमा सागर किराँती र उपप्रमुखमा झर्ना किराँती, नेचा सल्यान गाउँपालिका प्रमुखमा केशरबहादुर राई, खुम्बु पासाङ ल्हमु गाउँपालिका प्रमुखमा नाम्गेल शेर्पा र उप्रमुखमा फु शेर्पालाई अगाडि बढाइएको छ । माओवादी केन्द्र सोलुखुम्बुका सहसंयोजक ध्रुव शर्मा पराजुलीका अनुसार अधिकांश वडाको समेत उम्मेदवारको टुङ्गो लागिसकेको छ ।

यसैबीच नेकपा (एमाले) सोलुखुम्बुले पनि सम्पूर्ण तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । एमाले प्रचारप्रसार समितिका सचिव जगनाथ बास्तोलाका अनुसार सोलुदूधकुण्ड नगरपालिका प्रमुखमा आङदामी शेर्पा र उपप्रमुखमा कल्पना राईको उम्मेदवारी टुङ्गिएको छ ।

यस्तै एमालेले नेचा सल्यान गाउँपालिका प्रमुखमा ढुफकुमार बास्तोलाको उम्मेदवारी घोषणा गरेको छ । उता सोताङ गाउँपालिका प्रमुखमा वीरबहादुर राई, खुम्बु पासाङ ल्हमु गाउँपालिका प्रमुखमा ङिमदोर्जी शेर्पा, लिखुपीके गाउँपालिका प्रमुखमा पोस्टकुमार कार्की, दूधकोसीका गाउँपालिका प्रमुखमा श्यामकुमार राई र उपप्रमुखमा कल्पना बस्नेत तथा दूधकोसी गाउँपालिका प्रमुखमा बुद्धिकिरण राई र उपप्रमुखमा जुनिता मगरको उम्मेदवारी घोषणा भएको छ । यस्तै महाकुलुङ गाउँपालिकामा नरेन्द्र राईलाई अगाडि बनाउने तयारीमा रहेको स्रोतको भनाइ छ ।

यता नेपाली काँग्रेसले भने आकाङ्क्षी बढी हुँदा उम्मेदवार टुङ्ग्याउन सकेको छैन । पाटीभित्रकै गुटबीच जारी मतअन्तरका कारण उम्मेदवार टुङ्ग्याउन नसकेको काँग्रेसले दूधकोसी गाउँपालिका प्रमुखमा भोजराज कार्की र उपप्रमुखमा उम्रिता राईलाई अगाडि बढाउने तयारी गरेको जिल्ला सभापति विनोद बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीले खुम्बु पासाङल्हामु गाउँपालिका प्रमुखमा चुङ्बा शेर्पालाई अगाडि बढाउने छ । अन्य स्थानीय तहको विषयमा छलफल भइरहेको काँग्रेसले जनाएको छ । जिल्लास्तरीय छलफलले उम्मेदवार टुङ्ग्याउन नसक्दा दुवै पक्ष राजधानी गएका छन् ।

यता सोताङ गाउँपालिका प्रमुखमा काँग्रेसभित्र विवाद बढेको भन्दै रुष्ट बनेका काँग्रेस नेता दीपक खड्काले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । स्वतन्त्रबाट निर्वाचनमा उम्मेदवार दिने उहाँ पहिलो उम्मेदवार हुनुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्