Logo

प्रधानमन्त्रीमा देउवाको उम्मदेवारी दर्ता, प्रस्तावक प्रचण्ड, समर्थक पौडेल



काठमाडौं, २० जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार संसद सचिवालयमा उनले प्रधानमन्त्रीमा उम्मेद्धवारी दर्ता गराएका हुन् ।

सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् । यस्तै समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी रहेका छन् ।

सभामुख ओनसरी घर्तीको आदेशबमोजिम संसद् सचिवालयले आज ११ बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो । भोलि जेठ २१ गते बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।

मनोनयन अघिबसेको काँग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । बैठकमा वरिष्ठ नेता पौडेलले संविधानको कार्यान्वयन, बाँकी निर्वाचनमा पार्टीलाई अग्रता दिलाउने जिम्मेवारीसहित सभापति देउवालाई प्रस्ताव गर्नुभएको मुख्य सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

काँग्रेससँगको पूर्व सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले यही जेठ १० गते राजीनामा दिएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्