Logo

जब ओलीले देउवालाई प्रधानमन्त्री बन्न ज्योतिषीको भर नपर्न भनेपछि……



काठमाडौं, २१ जेठ । आईतबार सदन खुलाउनको लागि प्रमुख दलका शीर्ष नेताहरुवीच सहमतिको प्रयासस्वरुप नयाँ बानेश्वरस्थित् संसद भवन परिसरमा बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच रोचक सम्वाद भएको खुल्न आएको छ ।

सदन अवरोध हटाउनको लागि प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्न डाकिएको उक्त बैठकमा एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई लक्षित गर्दै मन्द मुस्कानसहित शब्दवाण प्रहार गरेको स्रोतले बताएको छ ।

ओलीले खासगरी देउवालाई ज्योतिषहरुले आजै प्रधानमन्त्री बन्ने दाबी गरेको भन्ने सूचना आफूलेपनि पाएको उल्लेख गर्दै ज्योतिषको भर माने आज प्रधानमन्त्री बन्न सजिलो नभएको तर्फ व्यंग्य गर्दै त्यसको लागि अरु दुई दिन पर्खन आग्रह गरेका थिए ।

बैठकमा सहभागी एमाले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पत्रकार ऋषि धमलासँग भने,‘शेरबहादुरजीले हिजो र अस्ती ज्योतिषलाई देखाउनुभयो अरे, उहाँलाई त ज्योतिषहरुले आजै प्रधानमन्त्री बन्नुहुन्छ भनेर दाबी गरेका थिए अरे, हाम्रो अध्यक्ष कमरेडले यसबारेमा कुरा गर्नुभएको थियो, उहाँले ज्योतिषको भर परे आज प्रधानमन्त्री हुने सपना पूरा नहुने भन्दै त्यसको लागि मंगलबारसम्मको लागि पर्खन आग्रह गर्नुभएको थियो ।’

सभामुख ओनसरी घर्तीमगरको उपस्थितिमा बसेको शीर्ष नेताहरुको बैठकमा अन्ततः एमालेको आग्रह अनुसार नै जेठ २३ गते अर्थात यही मंगलबार दिउँसो १ बजेसम्मको लागि संसद बैठक स्थगित् गर्ने सहमति भएको थियो ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्रीका एक मात्र उम्मेद्धवार देउवाले एमाले अध्यक्ष ओलीकै  आग्रहमा पर्सीसम्मको लागि समय सारिएको जिकिर गरे । उनले भने,‘उहाले आग्रह गरेपछि मान्नु परेन त ?’



प्रतिक्रिया दिनुहोस्