Logo

चोरी डकैती गर्ने गिरोह पक्राउ



बुटवल, २३ जेठ । रुपन्देहीका विभिन्न क्षेत्रमा वर्षौंदेखि सर्वसाधारणका घरमा पसेर चोरी डकैती गर्ने गिरोहको नाइकेसहितलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

प्रहरीले गिरोहको नाइकेसहित चोरी गरेको धनमाल सस्तोमा खरिद गर्ने व्यक्तिलाई समेत पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । रुपन्देहीका बुटवल उपमहानगरपालिका तथा तिलोत्तमा र सैनामैना नगरपालिकाका विभिन्न स्थानमा राति घरकोठाको झ्यालको ग्रिलमा लगाएको स्क्रु पेचकसले खोलेर झ्यालको ग्रिल निकाली घर कोठामा रहेका धनमाल चोरी गर्ने दुई र ती समान खरिद गर्ने चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरुले दुई वर्षदेखि विभिन्न क्षेत्रमा घरमा पसेर नगद, मोबाइल, ल्यापटप, आइप्याड तथा सुनका गरगहनासमेतका धनमाल चोरी गर्ने र सस्तोमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी गराउनुभयो । प्रहरीले चोरी डकैतीमा संलग्न मुख्य नाइके रुपन्देही, देवदह नगरपालिका –३ टटेरा बस्ने ३० वर्षीय हिरा चौधरी र नवलपरासी, सुनवल नगरपालिका–२ बत्रौली बस्ने २६ वर्षीय सन्तोष कलवारलाई पक्रेको हो ।
यस्तै उनीहरुले चोरेको धनमाल खरिद गर्ने बाँके, नेपालगन्ज उपमहानगरपालिका–४का दामोदर सुनार, राजकुमार थापा र अमित सोनी तथा खजुरा गाउँपालिका–४ बस्ने भीमबहादुर खत्रीलाई समेत पक्राउ गरिएको प्रनानि मरासिनीले बताउनुभयो । प्रहरीले पक्राउ परेका समूहका अभियुक्तबाट रु एक लाख ४४ हजार, सुनको मुन्द्री, औँठी र सुनको ढिक्का दुई दुई थान र लकेटसहितको सुनको सिक्री एक थानलगायत बरामद गरेको छ ।

उनीहरुले एक वर्षका अवधिमा १६ स्थानमा चोरी डकैती गरेको र त्यसअघि १२ स्थानमा चोरी डकैती गरेको पाइएको छ । पक्राउ परेकामध्ये मुख्य अभियुक्तलाई २८ वटा चोरी डकैती मुद्दामा म्याद थप लिई प्रहरी हिरासतमा राखी चोरी मुद्दामा अनुसन्धान भइरहेको समेत उहाँले बताउनुभयो ।

यसैबीच यही जेठ ८ गते साँझ बुटवल–१२ ज्यामिरे गाउँमा भरुवा बन्दुकको छर्रा लागी मानिस घाइते भएको भन्ने सूचनाका आधारमा उक्त स्थानमा गई तलासी लिँदा गाउँ नजिकैको ठूलो खोला भन्ने ठाउँमा ढुङ्गाको कापमा तीन थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विस्फोटक पदार्थ बारुद फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त अवैध हतियार लुकाइराख्ने सोही ठाउँका ५३ वर्षीय नन्दवीर गाहासहितलाई पक्राउ गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्