काठमाडौँ, २३ जेठ । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वा्चित गरेको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएसँगै देउवालाई पहिलो बधाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि सदनबाट आफ्नो निवास जाँदै गर्दा बाटोमा रहेका बेला मोदीले देउवालाई फोन गरेर बधाई दिएका हुन् ।
प्रधानमन्त्री देउवा र मोदीवीच करिब दश मिनेट कुराकानी भएको गोपाल बाग्लेले जानकारी दिए ।
संसद्को आजको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वा्चित हुनुभएको हो । उहाँको विपक्षमा १७० मत परेको थियो । एक मात्र उम्मेदवार भए पनि प्रधानमन्त्री चयनका लागि हाल कायम सांसदको ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक भएकाले मत विभाजन भएको हो ।
हाल संसद्मा कायम कुल ५९३ सांसद रहेकामा आजको मतदानमा ५५८ ले भाग लिएका थिए ।
‘सभापति देउवालाई प्रधानमन्त्रीमा निर्वा्चित गरियोस्’ भनी प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव प्रस्तुत गरेका थिए ।
माओवादी केन्द्र र नेपाली काँग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी र नेकपा (संयुक्त) लगायतका दलले देउवाको पक्षमा मतदान गरेका थिए । देउवाको विपक्षमा नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, परिवार दललगायतले मतदान गरेका थिए ।
प्रधानमन्त्रीमा विजयी घोषणासँगै सभापति देउवालाई सभामुख ओनसरी घर्ती र सांसद्हरुले बधाई दिएकी थिईन् । संसद्को अर्काे बैठक यही जेठ २५ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।