Logo

मत सङ्केतको सही प्रयोगबारे मतदाता शिक्षा दिइँदै



काठमाडौँ, २५ जेठ । निर्वाचन आयोगले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदातालाई मतपत्रमा सहीरुपमा कसरी मत सङ्केत गर्ने भन्ने विषयलाई प्राथमिकता दिई मतदाता शिक्षा कार्यक्रम अघि बढाएको छ ।

गत वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनको अनुभवबाट पाठ सिकेर मतदाता शिक्षा कार्यकर्तालाई प्रत्येक घरमा पुगेर आफूले दिएको शिक्षाबारे प्रतिवेदन पेस गर्न आयोगले खटाएको छ ।

सदर मत प्रतिशत बढाउन तथा बदर मत प्रतिशत घटाउने दोस्रो चरणको निर्वाचनलाई लक्षित गरेर आयोगले मतदान हुन तीन दिनअघि असार ११, १२ र १३ गते मतदाता परिचयपत्र वितरण गर्ने स्थानमा सक्कली मतपत्र प्रदर्शनमा राख्ने व्यवस्था पनि गरिने छ ।

पहिलो चरणको निर्वाचनमा प्रारम्भिक आँकडाअनुसार २ देखि ३ प्रतिशतको हाराहारीमा मतपत्र बदर भएको अनुमान छ ।

निर्वाचनसँग सम्बन्धित कानुनी व्यवस्था, मतदाता शिक्षाको कमी र ठूलो मतपत्रका कारण बदर मतको सङ्ख्या बढ्ने देखिएको छ ।
आयोगका सहसचिव नवराज ढकालले मतदाता शिक्षाका लागि पहिलो चरणमा प्रयोग भएका उपायका अतिरिक्त साङ्गीतिक र नाटकीय प्रस्तुतिका अतिरिक्त सडक नाटकको पनि आयोजना गरिने बताउनुभयो ।

स्थानीय भाषाभाषीको सघनता भएका स्थानमा स्थानीय भाषामै मतदाता शिक्षासम्बन्धी सूचना, सन्देश र जानकारी दिने व्यवस्था मिलाइएको जानकारी दिँदै उहाँले सामुदायिक सङ्घसंस्था, गैरसरकारी संस्थासमेतलाई परिचालन गर्नेगरी संयुक्त राष्ट्रसङ्घीय प्रणालीसँग सहकार्य पनि गरिएको जानकारी दिनुभयो ।

नमुना मतपत्रका माध्यमबाट नमुना मतदानका साथै पर्चा, पम्प्लेट, रेडियो, टेलिभिजन, पत्रपत्रिकाका माध्यमबाट पनि सघनरुपमा मतदाता शिक्षालाई अघि बढाउने बताउँदै सहसचिव ढकालले नागरिक समाजसँगको अन्तक्र्रिया र राजनीतिक दलसँगको संवादलाई पनि जोड दिइनेछ भन्नुभयो ।

दोस्रो चरणको निर्वाचनमा ९० लाख ९७ हजार ५५७ मतदातालाई मताधिकार छ भने त्यसका लागि आयोगले ११ हजार ८३३ मतदान केन्द्रमा सामाजिक परिचालन, महिला स्वयम्सेविका र सामुदायिक विद्यालयका शिक्षक शिक्षिकालाई मतदाता शिक्षा कार्यकर्ताका रुपमा परिचालन गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot