Logo

भरतपुरमामात्रै पहिलोपटक मतपत्र च्यातिएको होइन : प्रधानमन्त्री देउवा



काठमाडौं, जेठ २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने योजनामा सरकार रहेको बताएका छन् ।

व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि प्रमुख प्रतिपक्षी दलकोसमेत सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने वचनबद्धता प्रकट गरे ।

भरतपुर महानगरपालिकामामात्रै पहिलोपटक मतपत्र च्यातिएको नभइ अन्यत्र पनि त्यस्तो घटना भएको स्मरण गराउँँदै प्रधानमन्त्री देउवाले यस विषयमा निर्वाचन आयोगले लिएको निर्णय र यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकोसमेतलाई सबै दलले सोही आधारमा बुझ्ने र लिनुपर्ने बताए ।

आफू सधैं समावेशी समानुपातिक प्रतिनिधित्वको पक्षमा रहँदै आएको र सोही पक्षमा अनवरत संघर्ष गर्दै आएको स्पस्ट पार्दै प्रधानमन्त्री देउवाले संविधानले प्रत्याभूत गरेको विषयमा आफू प्रस्ट रहेको बताए ।

विगतमा पटक–पटक सहमतिको प्रयास भएको भएपनि सहमतिको वातावरण बन्न नसकेको स्मरण गर्दै प्रधानमन्त्रीले आफू सधैं राष्ट्रिय सहमति र सहकार्यमै विश्वास गर्ने र सोहीअनुसार अगाडि बढ्ने बताए ।

नेकपा एमालेका नेता माधवकुमार नेपाललाई आफ्नो पार्टीले प्रधानमन्त्री बनाउन सहयोग गरेको प्रसंग अघि सार्दै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल राज्यको अंग नै भएकाले उसलाई उचित जिम्मेवारी र भूमिका दिइने वचनबद्धता प्रकट गरे ।

मधेसी जनताको भावनानुसार संविधान संशोधन जरुरी रहेको र स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गरिने प्रतिबद्धतालाई उनले पटक–पटक दोहोर्‍याए ।

प्रधानमन्त्री देउवाले भने–‘विगतमा संविधान संशोधन प्रस्ताव पारित गर्ने अवस्था रहेन । हामी निरन्तर प्रयासरत् छौं । मधेसकेन्द्रित दलले निर्वाचनमा भाग लिनुपर्छ । उहाँहरु निर्वाचनमा भाग लिनुहुन्छ भन्ने मलाई विश्वास छ ।’

मुलुकको राष्ट्रिय एकता र भावनालाई कमजोर हुन नदिने उल्लेख गर्दै प्रधानमन्त्रीले सबै वर्ग तथा पक्षको भावनालाई उचित सम्मान गरेर सरकार अगाडि बढ्ने जानकारी दिए ।

विश्वमै कहीँ नभएको समावेशी समानुपातिक प्रणाली नेपालमा रहेको बताउँदै उनले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

संविधानको व्यवस्थाअनुसार तीनओटा निर्वाचन सम्पन्न गरेर अगाडि जाने पक्षमा सरकार अविचलित रहेको पनि उनले जानकारी दिए । व्यवस्थापिका–संसदको अर्को बैठक यही जेठ २८ गते आइतबार १३.०० बजे बस्नेछ । रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot