Logo

कामनपामा नगरकार्यपालिकाको निर्वाचन सम्पन्न : बयालिस सदस्य चयन



काठमाडौँ, २६ जेठ । काठमाडौँ महानगरपालिकामा आज नगर कार्यपालिका सदस्य निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित १५७ जनाले मतदान गर्नुभयो ।

काठमाडौँ नगर कार्यपालिकामा निर्वाचित महिला सदस्यमध्येबाट पाँच जना र महानगरको मतदाता नामावलीमा नाम भएका आम दलित र अल्पसङ्ख्यकमध्येबाट तीन जना गरी आठ जना सदस्यको छनोटका लागि शुक्रबार निर्वाचन सम्पन्न भएको हो । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि यस निर्वाचनका मतदाता रहनुभएको थियो ।

गएको वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट पूरा सङ्ख्यामा उम्मेदवारी परेको भए महानगरमा प्रमुख र उपप्रमुख गरी मतदाता १६२ हुन्थे । तर त्यस निर्वाचनमा वडा नं २४, २५ र २७ बाट कुनै पनि दल वा स्वतन्त्रतर्फबाट दलित महिलामा उम्मेदवारी दर्ता हुन नसकेकाले १६२ मा तीन सिट खाली हुन गई १५९ सिटमा मात्र प्रतिनिधि चयन भएको थियो । यो सङ्ख्यामा पनि दुई जना मतदानमा अनुपस्थित भएपछि मतदाताको सङ्ख्या १५७ हुन पुगेको हो ।

नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको प्रतिस्पर्धामा नेकपा एमालेका तर्फबाट महिला सदस्यतर्फ वडा नं ६ की लक्ष्मी श्रेष्ठ ९४ मत, वडा नं २५ की रमिता कमल स्थापित ९४ मत, वडा नं २६ की कान्ता अधिकारी गौतम ९३ मत, वडा नं १४ की रश्मी खड्का ९३ मत र वडा नं ३२ की हीरादेवी पोख्रेल ९१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, दलित वा अल्पसङ्ख्यकबाट पनि नेकपा एमालेकोतर्फबाट दीपक गोर्खाली राई, प्रेम पोडे जारी र पासाङ नुर्वु लामाले ९४÷९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले प्रमाणपत्र प्रदान गरी शुक्रबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराइसक्नुभएको छ । आज निर्वाचित सदस्यसहित अब महानगरमा ३२ वडाध्यक्ष, प्रमुख, उपप्रमुख र आजका आठ सदस्यसहित ४२ नगर कार्यपालिका सदस्य भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot