Logo

रासस समाचार प्रभावः बाजुराको गुम्बामा मतदान केन्द्र थप



बाजुरा, २८ जेठ । बाजुराको सर्वाधिक विकट बिच्छँया गुम्बा गाउँका बासिन्दाले गाउँमा मतदान केन्द्र हुने भएपछि यसपालिको स्थानीय चुनावमा भाग लिन पाउने भएका छन् ।

मत हाल्नका लागि बास बस्नेगरी खानेकुरा बोकेर जानुपर्ने बाध्यता भन्दै गाउँमा मतदान केन्द्र हुनुपर्ने जनताको मागलाई जिल्लाका राजनीतिक दल जिल्ला निर्वाचन कार्यालयको ध्यान जान सकेको थिएन । गाउँको राजनीतिक पहुँच कम भएकाले त्योबेला कसैले सुनिदिएनन् ।

मत हाल्न अप्ठ्यारो भन्ने समाचार सार्वजनिक भएपछि निर्वाचन कार्यालय, बाजुराले पनि अहिले भने व्यवस्था गरेको स्थानीयवासीले बताएका छन् । राससमा आएको समाचारका कारण एक महिनापछि निर्वाचन आयोगले मतदान केन्द्र थप गरेकोे छ ।

बाजुरा जिल्लामा रहेको निर्वाचन कार्यालय, बाजुराका अनुसार जेठ २६ गते मतदान केन्द्र थप गर्न निर्वाचन आयोगले चिठी पठाइसकेको छ ।

अहिलेको स्थानीय चुनावमा स्थानीय गाउँमै मतदान केन्द्र हुनेमा ढुक्क छन् । गुम्बा गाउँमा ३० मतदाता रहेका छन् र ३० मतदाताले यसपालि मत हाल्न पाउने भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्