Logo

नेपालगञ्ज पुगेर ओलीले भने,‘मतपत्र च्यात्नेलाई किन भोट दिने’



 

नेपालगन्ज, २८ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई पार्टीलाई पहिलो बनाउनेगरि चुनावी प्रचारप्रसारमा होमिन निर्देशन दिएका छन् ।

आईतबार बाँकेको नेपालगन्ज पुगेका ओलीले विशेष चुनावी सभालाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले भने,‘ असार १४ गतेपछि पनि घाम लाग्छ, कसैको असन्तुष्टि छन् भने तीनको समाधान चुनावपछि हुनेछ ।’

सम्बोधनको क्रममा उनले एमालेलाई राम्रो बनाउनेगरि कार्यकर्ताहरुवीच एकतावद्ध भएर चुनावमा होमिनुपर्ने धारणा राखेका थिए । त्यस्तै उनले मधेसका जनतालाई प्रश्न गर्दै भने( मधेसका जनता सधैं लडाई झगडा र आन्दोलन चाहान्छन् कि शान्ति र विकास चाहान्छन् ? यो प्रश्नको जवाफ जनताले चुनावबाट दिनेछन् । मधेसमा एमालेले जित्नेछ । उनले कांग्रेस र माओवादीलाई मत दिनुपर्ने कारण नरहेको दावी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले चितवनको भरतपुरमा हार्ने निश्चित भएपछि कांग्रेस(माओवादीले बालुवाटारमा योजना बनाएर मतपत्र च्यातेको आरोप लगाए ।
उनले भने,‘उनीहरुलाई मत किन दिने ? मतपत्र च्यात्नका लागि दिने ? जनताले कांग्रेस माओवादीलाई भोट माग्न आउदा सोध्नुपर्छ(हाम्रो मत च्यात्नेलाई किन भोट दिने ?

एमालेले जित्छ । अरुले एमाले विरुद्ध षडयन्त्र किन गर्छन् भने एमाले बलियो छ । यो नेपालगंजमा त चुनावमा मात्रै होइन समसुद्धिन सिद्धिकीसँग अखडामा लड्नु पर्यो भने पनि अरुले विचार गर्नु पर्छ । कसैले आँटै गर्दैन । किनभने बलियो छ । एमाले बलियो भएपछि अरुले लड्न विचार गर्नु पर्छ, योजना बनाउनु पर्छ अनि दलबल गर्नु पर्छ । अरु अरु त्यसरी दलबल गरेर आउन सक्छन् एमालेका विरुद्ध । साँठगाँठ गर्न सक्छन्, षडयन्त्र गर्न सक्छन्, अनेक प्रकारका योजना बनाउन सक्छन् । अरुले जतिसुकै साँठगाँठ गरे पनि एमाले पहिलो छ भन्ने कुरा अघिल्लो चरणको चुनावले देखाइसकेको छ । कतिपय ठाउँमा बुथकब्जा अनेक चिज भए । कतिसम्म भएको रहेछ भन्ने कुरा तपाईंहरुले भरतपुरमा देख्नु भो । भोट गनिसक्न लाग्दा ७८४ ले एमाले अगाडि लाग्दा दाुईचारवटा मत च्यातेर तमासा गरेका छन् । अहिले मतगणना रोकिएको रोकियै छ । चुनाव भएपछि मत गन्नु पर्दैन ? गनेर परिणाम घोषणा गर्नु पर्दैन ? हार्नेको प्रतिनिधिले च्यातेर जित्नेलाई जीतको घोषणा हुनबाट रोक्ने, फेरि चुनाव गर्ने भनेर अनेक तमासा भइरहेका छन् । मुद्दा अदालतमा छ हामी धेरै भन्न चाहंदैनौं । एमाले जित्नलाग्यो भनेपछि मत च्यातेर गलत मनसायले मत च्याते । जति कब्जा गरे पनि, जति मत च्याते पनि नेकपा एमालेले अत्यधिक ठाउँमा जितेको छ ।

एउटा हल्ला छ– मधेसमा एमाले टिक्न सक्दैन, एमालेलाई बढारिन्छ भनेर । चुनाव नहुन्जेल बढारिन्छ । चुनाव भएर गन्ने बेला थाहा पाउला एमाले बढारिन्छ कि मधेसमा को बढारिन्छ । मधेसका जनताले के सधैं लडाईं झगडा चाहन्छन् ? विकास निर्माण चाहंदैनन् ? के सामाजिक सदभाव चाहंदैनन् ? अवश्य पनि मधेसमा बस्ने नेपाली जनता झैझगडा चाहंदैनन्, विकास र सामाजिक सदभाव चाहन्छन् । मधेसका जनता अपराध चाहन्छन् ? हिंसा चाहन्छन् ? होइन शान्ति चाहन्छन्, मेलमिलाप चाहन्छन् । बैरभाव चाहंदैनन् विकास चाहन्छन् । पछौटेपन चाहंदैनन् । पछौटेपन हटाउन विकास गर्न शान्ति चाहिन्छ, शान्ति । शान्ति एमालेले जितेर मात्रै आउन सक्छ, एमालेको नीतिबाट मात्रै आउन सक्छ । त्यसकारण जनता एमालेकै पक्षमा हुन्छन् ।

म नेकपा एमालेका साथीहरुलाई भन्छ चाहन्छु । साथीहरुलाई लागेको होला–आफू उम्मेदवारमा पर्न पाएको भए हुन्थ्यो । आफूले भनेको मान्छे पार्न पाए हुन्थ्यो भन्ने पर्न सक्छ । तर, एउटा पदमा एकजनालाई उम्मेदवार बनाउने हो । उम्मेदवार बन्नका लागि यो उपमहानगर पालिकामा एमालेका सैकडौं योग्य छन् । मेयर बनाउन योग्य सयौं छन् । तर, मेयर एउटालाई मात्रै बनाउन पाइन्छ । एउटालाई बनाउँदा सयौं छुट्छन् । छुटेकाले असन्तुष्ट हुन पाईंदैन । म आग्रह गर्न चाहन्छु– यतिबेला एमालेका विरुद्ध विभिन्न शक्ति घेराबन्दी गरेर लागेका छन् । किनभने एमालेलाई कमजोर नपारी यस देशलाई कमजोर बनाउन सकिंदैन, यसलाई दुखी गरिव बनाउन सकिंदैन । एमालेलाई कमजोर नबनाई यस देशलाई कुल्ली कवाडको देश बनाउन सकिंदैन, रोजगारी खोज्न विदेशमा भौंतारिनेको देश बनाउन सकिंदैन । त्यसकारण एमालेलाई कमजोर पार्ने षडयन्त्र भइरहेको छ, किनभने यसले देशका हितहरुको रक्षा गर्छ । देशको स्वतन्त्रता, स्वाभीमान, एकता र विकासको रक्षा गर्छ ।

यहाँहरुलाई थाहा छ– दैलेखमा पेट्रोल खानी, तेल खानी छंदै थियो । तर, एमालेको सरकार आउनु पर्यो दैलेखको तेल खानी पत्ता लगाउन । एमालेको सरकार देशी विदेशी मिलेर किन हटाइहाल्नु पर्यो भने हामीले त्यहाँबाट पेट्रोल निकालेर बेच्यौं भने नेपाल अरवका देश भन्दा अघि बढ्छ , किनभने यसको जनसंख्या एकदमै कम छ । नेपाल धनी भइहाल्छ । नवलपरासीमा एउटा १२ किलो मिटर पहाड नै फलाम खानी छ । अढाइसय मिटर तलसम्म फलाम छ । त्यहाँ फलाम निकाल्न सकियो भने यहाँ एउटा स्टिल भन्नुस् वा एउटा छड बाहिरबाट ल्याउनु पर्दैन, हामी यहीँबाट आत्मनिर्भर हुन्छौं । हाम्रा बाटा, हाम्रा पुल, हाम्रा घर सबै यही फलामले बन्छ । रोजगारीका अवसर सिर्जना हुन्छ । अनि त्यसैले हाम्रो विकास नहोस् भन्नेहरु आत्तिन्छन् ।

हामीले कृषिको आधुनिकीकरणको अभियान लग्यौं, त्यसकारण आत्तिए । नेपालको कृषिलाई आधुनिकीकरण गर्न हामीले सुपरजोन र जोनहरु बनायौं । त्यसकारण यिनीहरु आत्तिए । हामीले हरेक प्रदेशमा विशेष औद्योगिक क्षेत्र स्थापना गर्ने, हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने, हरेक प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने । यी कामहरुलाई हामीले अगाडि बढायौं । बाटोहरु, रेल्वे आदिका कनेक्सनहरु, एउटा देशको निर्भरता होइन । अव नेपाल स्वतन्त्र भएर आकाशमा चराहरुले कावा खाए झैं कावा खाँदै आफ्नो उन्नती गर्न सक्छ भन्ने अवस्थामा नेपाललाई पुर्यायौं । त्यसकारण एमालेलाई हतार हतार हटाउनु पर्यो । हाम्रो पार्टीका सही नीति र सही योजनाहरुलाई जनताका बीचमा लैजानु पर्छ ।

म भन्न चाहन्छु साथीहरुलाईः स्थानीय तहको संख्या र सीमा अव परिवर्तन हुँदैन, यही जे छ त्यसैमा चुनाव हुन्छ । असार १४ गतेको मिति सर्छ कि भन्ने शंका गर्नु पर्दैन, सर्नेवाला छैन । त्यो नसोचे हुन्छ । असार १४ गते नै चुनाव हुन्छ । उम्मेदवार साथीहरु ढुक्क भएर लाग्नुस्, उम्मेदवारी फिर्ता हुँदैन । नेपालगंज उपमहानगर पालिकाका एमालेका उम्मेदवारहरु शानदार ढंगले जितेको देशभरका एमाले कार्यकर्ताहरु सुन्न चाहन्छन् । अव ४ वटा प्रदेशमा चुनाव हुँदैछ । प्रदेश नम्बर १ एमाले अत्यधिक बहुमतका साथ चुनाव जितेको खवर तपाईंहरुलाई सुनाउन आतुर छ । प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ त्यसैगरी शुभसमाचार सुनाउन आतुर छ । तपाईंहरु अव दुई हप्ता खटेर अरु प्रदेशलाई सन्देश दिनुस् । धनुबाट छुटेको काँड जस्तै खट्नुस् ।



प्रतिक्रिया दिनुहोस्