Logo

महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने : राष्ट्रपति भण्डारी



 

काठमाडौँ, २८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताउनु भएको छ ।

महिला सुरक्षा दबाब समूह नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित महिला सम्मान तथा सहाना प्रधान विशेषाङ्क लोकार्पणमा उहाँले मुलुकको विभिन्न ठाउँमा अझ पनि छाउपडी दाइँजो लगायतका कारण महिला हिंसा हुने गरेको भन्दै यसको निरुपण आजको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले राज्यको सबै अङ्ग परिचालित हुँदै गएमा देशमा शान्ति, न्यायपूर्ण र आर्थिक रुपमा समुन्त हुनु टाढाको विषय नरहेको उल्लेख गर्नुभयो ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै दोस्रो चरणको निर्वाचनपछि स्थानीय तहमा महिला सहभागिता ४० प्रतिशत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का नेता वामदेव गौतमले महिला हिंसा अन्त्यका लागि सबै क्षेत्रबाट पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले करिब २५ वर्षसम्म नेत्री सहानाको नजिक रहेर काम गरेको भन्दै कठिन समयमा पनि काम गर्नसक्ने खुबी नेत्री प्रधानमा भएको चर्चा गर्नुभयो ।

राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले राज्यको विभिन्न तहमा महिला सहभागिताबारे कानुनमा उल्लेख भए पनि व्यवहारमा नभएको गुनासो व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने १० महिलालाई राष्ट्रपति भण्डारीले सम्मान गर्नुभयो । सम्मानित हुनेमा समाजसेवी मिठाइदेवी विश्वकर्मा, विजया शर्मा, साबित्री अर्याल सिलवाल, उमादेवी दास, चन्द्रकला किरण तथा बमकुमारी बुढा हुनुहुन्छ ।

त्यसैगरी राजनीतिककर्मी नानीमैया नकर्मी, कलाकार भुवन चन्द, कानुनविद् शीलु सिंह तथा साहित्यकार तोया गुरुङ पनि सम्मानित हुनुभयो । कार्यक्रममा नेत्री सहाना प्रधानको जिवनीका बारेमा उल्लेख गरिएको सामूहिक आवाज विशेषाङ्क लोकार्पण भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्