Logo

सरकारले बोलाएको वार्तामा किन जानु भन्दै लक्ष्मणलाल कर्ण कड्किएपछि….



काठमाडौं, ३१ जेष्ठ । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले आज साँझ ४ बजे बस्ने पाँच दलको बैठकमा राजपा नजाने बताएका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता कर्णले आन्दोलन घोषणा गरिसकेको अवस्थामा फेरि वार्ता तथा सम्वादमा बस्नु भनेको अशोभनीय कुरा भएको टिप्पणी गरेका हुन् ।

राजपा चुनावमा सहभागी हुने ग्यारेन्टी भए प्रदेश नम्बर २ र ५ मा चुनाव सार्न सकिने सत्तारुढ दलको प्रस्ताव छ । यो विषयमा नेता कर्णसँग धमलाले जान्न खोज्दा उनको भनाई छ,“हामीले त कहिले पनि यो चुनाव सार्नुहोस् भनेका छैंनौं, हामीले त हाम्रा माँगहरु पूरा गर्नुहोस् भनेका छौं।” उनले अहिलेसम्म आफूहरुले चुनावको मिति सार्नुपर्छ भनेर नभनेको जिद्दि गरे । फेरि कर्ण भन्छन्,“चुनावको मिति सार्नुपर्छ भनेर भन्ने हामी होईनौं, बरु तपाईहरुजस्तो पत्रकारले यस्तो भन्नुहुन्छ।”

आफूहरुले कुनैपनि निर्वाचनको मिति सार्नुपर्छ भनेर कहिल्यै नभनेको जिकिर मात्रै गरेनन् कि सरकारले राजपाको माँग पूरा गर्न चुनाव सारियो भनेपनि अहिलेसम्म खोई त माँग पूरा गरेको भनि प्रश्न समेत गरे । चुनावको लागि तपाईहरुले समय माग्नुभएको त हो नि ? भन्ने प्रश्नमा उनले भने,“२९ गते दर्ता गर्ने अनि २ गते नोमिनेशन गर्ने पनि दुनियाँमा यस्तो कहीँ हुन्छ त ?”

आज साँझ बस्ने ५ दलको बैठकमा तपाईहरुको आधिकारिक प्रस्ताव के हुन्छ भन्ने धमलाको प्रश्नमा कर्णले भने,“हाम्रो कुनै प्रस्ताव छैन, किनकी हामीले दुनियाँलाई भनिसकेका छौं, पटक पटक बैठकमापनि भनिसकेका छौं, जुन हाम्रा माँगहरु छन्, ती सबै पूरा गरे हामी निर्वाचनमा जान्छौं।” उनले दुई वर्षदेखि आफूहरुको माँग पूरा गर्नको लागि आग्रह गरिरहेको जानकारी दिए ।

कर्णले सरकारले समयमै गर्नुपर्ने कामलाई गरिदिएको भए आज यस्तो दिन नआउनेथियो भन्ने समेत धारणा राखे । सरकार गम्भिर नभएको कारणले मधेशमा गाउँ गाउँमा यतिवेला मसाल जुलुस निस्किरहेको उनको आरोप छ ।

तर मधेशमा जनताहरु निर्वाचनको पक्षमा जुटिसके नि भन्ने धमलाको अर्को प्रश्नमा कर्णले व्यंग्यतात्मक रुपमा अर्को प्रश्न तेर्साए,“कुन मधेशमा जनता निर्वाचनको पक्षमा जुटेका छन्, मलाई त थाहा छैन ?” उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको फेसबुक स्टाटस आफूले हेरेको उल्लेख गर्दै मधेशमा जनता निर्वाचनको लागि तयार भैसकेको भए बन्दुक, गोली र बारुद किन चाहियो त भन्दै उल्टै यादवलाई प्रश्न गरे । कर्णले थपे,“गोली, बन्दुकले देश चलाउनु छ भने चलाउनुहोस्।”

उनले अब वार्ताको कुनै जरुरी नै नभएको समेत जिकिर गरे । उनले भने,“आजको बैठकमा कुनै हालतमा पनि जानुहुँदैन्, जतिवेला मधेशमा आन्दोलन बढ्छ, चर्किन्छ अनि सरकारले मथ्थर पार्न वार्ताको नाटक गर्छ, यस्तो अवस्थामा वार्तामा जानुहुँदैन, तर नेताहरुले के गर्छन? त्यो उनीहरुको कुरा हो, तर म व्यक्तिगत रुपमा वार्तामा जानुहुँदैन भन्छु।”



प्रतिक्रिया दिनुहोस्

Screenshot