काठमाडौं, ३१ जेष्ठ । संघीय समाजवादी फोरम, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । श्रेष्ठले भने,‘हेर्दै जानुहोला, तराई–मधेशमा हाम्रो पार्टी पहिलो हुन्छ, अहिले जनताको व्यापक जनलहर हाम्रो पक्षमा उत्रिएको छ, पहिलो हुनेमा कुनै शंका छैन्।’
चुनाव तोकिएकै मितिमा हुन्छ त भन्ने प्रश्नमा नेता श्रेष्ठले भने,‘राज्यले चाह्यो भने किन नहुनु, गर्यो भने हुन्छ।’ उनले आफ्नो पार्टीले संविधान संशोधनको पहल पनि जारी राख्दै जाने तर अहिले चुनावमा पनि भाग लिने भनेर नीति लिएकोले त्यही अनुसार व्यापक तयारी भैरहेको जानाकारी दिए ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धिको लागि चुनावलाई पनि आन्दोलनकै रुपमा उपयोग गर्ने भएकोले आफ्नो पार्टीले पहिलो चरणको निर्वाचनमा पनि भाग लिएको र अब हुने दोस्रो चरणको निर्वाचनमा पनि व्यापक उत्सुकताका साथ सहभागी जनाउने स्पष्ट पारे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भने,‘संविधान संशोधनको पहलपनि जारी रहन्छ, प्रस्ताव दर्ता भैसकेको छ, स्थानीय निकायको निर्वाचन भनेको विकासको माध्यम हो, त्यही भएर हामी निर्वाचनमा गएका हौं,।’
उनले कांग्रेस र माओवादी केन्द्रले संसदबाट संशोधन प्रस्ताव पारित गराउँछौं भनेर प्रतिबद्धता जनाएअनुसार नै आफूहरुले प्रधानमन्त्री देउवालाई समर्थन गरेको जनाउँदै माँग पूरा हुनेमा विश्वस्त रहेको प्रष्ट्याए ।
उनले राजपालाई पनि चुनावमा सहभागी हुने वातावरण बनाउनको लागि सत्तापक्षलाई आह्वान गर्दै भने,‘राजपा र सरकार दुवै पक्षलाई हाम्रो विशेष आग्रह छ, सरकारले पनि उहाँहरुलाई चुनावमा सहभागी हुने वातावरण बनाउनुपर्छ, र राजपा पनि चुनावमा आउनुपर्छ ।’