Logo

जनताको माग भन्दै स्वतन्त्र उम्मेदवारी



बुटवल,१ असार । रुपन्देहीको तिलोत्तमाका युवा व्यवसायी शिवकुमार लामिछाने तिलोत्तमा नगरपालिका वडा नं. १३ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा बिहिबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । राजनीतिक दलहरुले सरकारी तथा सार्वजनिक निकायलाई चरम राजनीतिक अखडा बनाउंदा जनता राजनीतिक दलका गतिविधिप्रति दिक्क भएकाले जनताको माग अनुसार राजनीतिक दलहरुको गलत क्रियाकलापको बिरोधमा आफु स्वतन्त्र उम्मेदवारको रुपमा खडा भएको लामिछानेले बताए ।

पाँचबर्ष सम्म बिदेशमा श्रम गरेर नेपाल फर्केका लामिछानेले बिदेशमा जति मिहिनेत नेपालमा गर्ने हो भने नेपालमै पनि केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावनाले आफुले नेपालमै व्यवसाय गरेर सफल भएको दाबी गरे । नेपालमै केही गरौ भन्ने भावना भएका युवाहरुलाई प्रोत्साहन गर्ने काम नेपालका राजनीतिक दलहरुले गर्न नसक्दा युवाहरु बिदेश पलायन हुने क्रम बढेको भन्दै उनले आफुले चुनाव जिते युवा लक्षीत कार्यक्रम मार्फत वडाका युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउने उद्घोष गरे ।

आफुले चुनाव जिते वडा भित्र निर्माण हुने बिकास आयोजना चार बर्ष नपुग्दै भत्के-बिग्रिए निर्माणको जिम्मा लिने ठेकेदार कम्पनिले नै मर्मत सम्भार गर्नुपर्ने नियम लागु गर्ने बताउदै उनले वडामा रहेका सरकारी बिद्यालयहरुमै बोर्डिङ्ग स्कुल सरहको अंग्रेजी माध्यमबाट पठन पाठनको व्यवस्था मिलाउने प्रतिवद्धता जनाए ।

उनले वडा अध्यक्षले पाउने सेवा सूबिधा बापतको रकम सडक बत्तिमा खर्च गरेर वडालाई रातिमा पनि उज्यालो बनाउने र चोरी डंकैति हुनबाट जोगाउने बताए ।

आफुले चुनाव जिते एक महिना भित्रै वडावासीलाई एम्बुलेन्स सेवा प्रदान गर्ने र तिन महिना सम्म पनि केही गर्न नसके पदबाट राजीनामा दिने बताए । बिबेकशील नेपाली दलको समर्थन आफुलाई रहेको र नयां शक्ति पार्टीले पनि समर्थन गर्ने प्रतिवद्धता जनाएको र वडावासी युवाहरुको समर्थन रहेकोले आफूले चुनाव जित्ने लामिछानेले दाबी गरे ।

भ्रष्टाचारमुक्त शहर र महिला ससक्तिकरण मुख्य एजेण्डा

त्यस्तै बुटवल उपमहानगरपालिकाको लागि राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट उपमेयरकी उम्मेदवार धनि आलेले आफ्नो मुख्य एजेण्डा भ्रष्टाचारमुक्त उपमहानगर र महिला सशक्तिकरण रहेको बताएकी छिन् । उनले सबै वडामा स्वच्छ पिउने पानिको व्यवस्था मिलाउने र निशुल्क फोहोर व्यवस्थापन गर्ने आफ्नो योजना रहेको बताइन् ।

बुटवल उपमहानगरपालिका पटक-पटक उत्कृष्ट नगरपालिका घोषणा भए पनि सो अनुरुपको बिकास हुन नसक्नु बिडम्बना भएको बताउदै आलेले बुटवललाई स्वच्छ, सफा र हराभरा शहरको रुपमा बिकास गर्दै पर्यटकिय गन्तव्य बनाउन आफ्नो उम्मेदवारी रहेको उल्लेख गरिन् ।

महिलाहरुलाई आफु अनुकूलको सिपमुलक तालिम दिएर स्वरोजगार बनाउदै आत्मनिर्भर बनाउने योजना अगाडि सार्दै उनले बुटवलको फोहोरलाई मोहरमा बदल्ने र बुटवललाई लोडसेडिङ्गमुक्त शहर को रुपमा बिकास गर्ने योजना सुनाइन् ।

बुटवलमा भैरहेका बिकास निर्माणका योजनाहरु पारदर्शी हुन नसकेको र त्यसमा पनि सांसद बिकास कोष अन्तर्गत सञ्चालित केही बिकास आयोजनाहरु सम्पन्न भएको दुई दिन सम्म पनि नटिक्ने गरेको उदाहरण दिदै उनले भ्रष्टाचारमुक्त शहर र महिला ससक्तिकरण आफ्नो प्रमुख एजेण्डा भएको जानकारी गराइन् ।

बुटवलको १९ वटै वडामा पार्टी संगठन बिस्तार भएको र आफु बिभिन्न सामाजिक संघ संस्थामा रहेर काम गर्दा राम्रो जनसम्पर्क रहेकोले चुनावमा बिजयी हुने प्रवल सम्भावना रहेको बताइन् ।

क्लवका अध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रमको सञ्चालन पत्रकार कृष्ण खनालले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot