Logo

निर्वाचनको संवेदनशीलतालाई बुझेर समाचार सम्प्रेषण होस् : शाह



काठमाडौँ, १ असार । निर्वाचन आयुक्त सुधीरकुमार शाहले आमसञ्चारमाध्यमलाई निर्वाचनको संवेदनशीलतालाई ध्यान दिँदै सत्य, तथ्य सूचना र समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगद्वारा यहाँ आज आयोजित सञ्चारमाध्यमले पालना गर्नुपर्ने स्थानीय तह निर्वाचन आचारसंहितासम्बन्धी अन्तक्र्रियामा उहाँले भन्नुभयो, “पहिलो चरणको स्थानीय तहको निर्वाचनमा केही मिडियाबाट आचारसंहिता उल्लङ्घनका घटना भएको छ, आगामी दिनमा त्यसलाई सच्याउनुपर्दछ ।”

निर्वाचनमा उम्मेदवारी दर्ता गरेपछि प्रचारप्रसारका क्रममा हुनसक्ने आचारसंहिता उल्लङ्घनलाई मिडियाले गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिँदै उहाँले आचारसंहिता उल्लङ्घनका कारण कारबाही गर्ने परिस्थिति आउन दिनु भएन भन्नुभयो ।

आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिनाले निर्वाचनको निष्पक्षता, पारदर्शिता, स्वतन्त्रता, स्वच्छता र कम खर्चिलो तुल्याउन जारी गरिएको निर्वाचन आचारसंहिता पालना गर्ने गराउने काममा सरोकार भएकाहरुलाई प्रेरित गर्न आवश्यक रहेको बताउनुभयो । आयोगका सहसचिव सुशील कोइरालाले निर्वाचन आचारसंहिता पालनाले निर्वाचनको समयमा दल र उम्मेदवारबीच सहकार्य, समझदारी र हार्दिकता बढाउन योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झवीन्द्र भुसालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा समग्रमा आमसञ्चारमाध्यमले सत्यतथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गरेको जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनमा आमसञ्चारमाध्यमले निर्वाचन र निर्वाचन आयोगसम्बन्धी समाचारलाई सबैभन्दा प्राथमिकता दिएको तथ्याङ्कसहितको विवरण सो अवसरमा प्रस्तुत गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्