Logo

मुलुकको बृहत्तर हितबाहेक अरु स्वार्थ छैनः गृहमन्त्री शर्मा



काठमाडौँ, १ असार । गृहमन्त्री जनार्दन शर्माले राजनीतिक नेतृत्व र कर्मचारी प्रशासन एकापसमा मिलेर जानुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनले आज गृह मन्त्रालयमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराएर मुलुकलाई समृद्ध बनाउने नै आफ्नो प्रमुख कार्यभार रहेको बताउँदै मुलुकको बृहत्तर हितभन्दा बाहेक आफ्नो कुनै स्वार्थ नभएको स्पष्ट गर्नुभयो ।

गृह प्रशासनप्रति नागरिकको सकारात्मक धारणा नरहेको बताउँदै मन्त्री शर्माले विगतमा के भयो त्यो नहेरेर आगामी दिनमा जनतालाई सकारात्मक र सहज तवरले सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

सरकार र राज्य भएको अनुभव गराउने र जनताले भरोसा गर्ने निकाय गृह प्रशासन नै रहेको बताउँदै उहाँले भन्नुभयो, “प्रहरी प्रशासनमा बेथिति छ, जनताको काम तोकिएको समयमा पूरा भएको छैन, कर्मचारीले दुःख दिएको गुनासो व्याप्त छ । आगामी दिनमा कुनै पनि निकायमा जनताले गुनासो गर्ने अवस्था आउनुहुन्न । जनतालाई प्रभावकारी सेवा दिनुस्, कर्मचारीको सेवा सुविधाको सम्बन्धमा म आवश्यक निर्णय गर्छु ।”

उहाँले गृह प्रशासनको ‘चेन अफ कमान्ड’ र मातहतका निकायको उचित परिचालनका सम्बन्धमा कर्मचारीसँग मिलेर काम गर्न आफू तयार रहेको बताउनुभयो ।
कर्मचारी सङ्गठन गृह मन्त्रालयअन्तर्गतको विभागीय समितिका अध्यक्ष कैलाश श्रेष्ठले विद्युत्भार कटौती अन्त्य गर्न सफल भए जस्तै गृह प्रशासन सुधार गर्न पनि मन्त्री शर्मा सफल हुने विश्वास व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot