Logo

देउवा र प्रचण्डको पुत्ला जलाउँदै अनेरास्ववियूले भन्यो,‘सडकबाटै सरकार ढाल्छौं’



काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले आज काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् ।

शुक्रबार काठमाडौंस्थित् आर.आर. क्याम्पस अगाडि अनेरास्ववियूका विद्यार्थी नेताहरुले सरकारले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमध्ये प्रदेश नम्बर २ को निर्वाचनको मिति सारेको विरोधमा पुत्ला दहन गरेका हुन् । उनीहरुले सरकारको निर्णयलाई राष्ट्रघातीको संज्ञा दिँदै आजसम्म उक्त निर्णय फिर्ता नलिए सरकार सडकबाटै सरकार ढाल्ने आन्दोलन छेड्ने चेतावनी समेत दिएका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतीय दलाल भएको आरोप लगाउँदै २ नम्बर प्रदेशलाई वर्तमान सत्तारुढ दलले सिक्किमिकरण गराउन खोजिरहेको आरोप समेत लगाएका छन् ।

पुत्ला दहनपछि सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष नविना लामाले सरकारको उक्त निर्णय नसच्चिएसम्म आफूहरुको आन्दोलन जारी रहने समेत चेतावनी दिईन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot