Logo

झापा पुगेर ओलीले भने,‘लोकतन्त्र र स्वाभिमानको रक्षा गर्ने एमाले छ’



काठमाडौं, ५ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई भोट हाल्नको आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली आज गृहजिल्ला झापा पुगेर यस्तो बताएका हुन् । उनले जुनसुकै पार्टीमा आवद्ध भए पनि देश निर्माणका लागि चुनावमा एमालेलाई साथ दिन मतदातासँग आग्रह गरेका छन् ।

कन्काई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकारमा रहंदा एमाले र अन्य पार्टीले कसरी काम गरेका थिए तुलना गरेर देशहितमा रहेको एमालेलाई मतदान गर्न उनले आग्रह गरे । ओली तीन दिने चुनावी कार्यक्रम सहित सोमबार झापा आइपुगेका हुन् ।

उनले अघि भने,‘एमालेले सरकारको नेतृत्व गर्दा कसरी काम गर्छ देख्नु भएको छ, अरु पार्टीले सरकारको नेतृत्व गर्दा के के गर्छन् त्यो पनि देख्नु भएको छ, अरु पार्टीमा अल्मलिएका साथीहरुलाई पनि म भन्छुः देशको समृद्धि र हितका लागि एमालेलाई मतदान गर्नुस् देश समृद्ध हुँदा तपाईंहरु पनि समृद्ध हुनुहुन्छ ।’

उनले एमाले राष्ट्रिय स्वाभीमान, लोकतन्त्र र समृद्धिको नेतृत्व गर्ने पार्टी रहेको वताउँदै यस उद्धेश्यका लागि अरु पार्टीमा नभौंतारिन पनि उनले आम नागरिकहरुसामू आग्रह गरे । ओलीले अघि भने,‘लोकतन्त्रको रक्षा गर्नु छ एमाले छ, स्वाभीमानको रक्षा गर्नु छ एमाले छ, विकास र समृद्धि चाहिन्छ एमाले छ, अरुले लोकतन्त्रको कसरी खिल्ली उडाए, उनीहरु स्वाभीमानको विरुद्ध कसको पक्षमा उभिए, समृद्धिको योजनालाई कसरी उडाए ? त्यसैले यी सबै उद्धेश्यका लागि एमाले नै तपाईंहरुको पार्टी हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot