Logo

प्रधानमन्त्री देउवालाई शान्ति समाजको ध्यानाकर्षण



काठमाडौँ, ६ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले भेटी २०७४ माघ सम्ममा सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने सरकारको दायित्व स्मरण गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा समाजले निर्वाचन बिथोल्न खोज्ने तप्का जनताबाट स्वतः तिरस्कृत भएर जाने हुँदा कुनै पनि बहानामा निर्वाचन सार्ने वा स्थगन गर्ने जस्ता कार्य हुनु नहुनेतर्फ ध्यानाकर्षण गराएको समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समाजको प्रतिनिधिमण्डलले लागुऔषध÷मदिरा दुव्र्यसन रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न आग्रहसमेत गरेको छ । यसैगरी संवैधानिक एवम् राजनीतिक नियुक्ति गर्दा कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न र वर्तमान मन्त्रीमण्डलमा कम्तिमा ३३ प्रतिशत महिला र उपयुक्त सङ्ख्यामा दलितको प्रतिनिधित्व गराई समावेशीस्वरुपको उदाहरण प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

राष्ट्रिय स्वाभिमान सदैव केन्द्रबिन्दुमा रहनुपर्ने, जस्तोसुकै अवस्थामा पनि नागरिकको मानव अधिकारको संरक्षण हुनुपर्ने र नागरिकले समावेशी स्वरुप, सामाजिक न्याय र सुशासनको अनुभुति गर्ने कार्यसम्पादन सरकारबाट हुनुपर्नेतर्फ पनि प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराएको छ ।

समाजले गराएको ध्यानकर्षणप्रति आफ्नो पूर्ण समर्थन रहेको भन्दै प्रधानमन्त्री देउवाले सुझावहरु कार्यान्वयन गर्दै जाने बताउनुभयो । उहाँले सरकार संविधानको कार्यान्वयन गर्न कुनै पनि कसर बाँकी नराख्ने तथा सबै क्षेत्रलाई समान रुपमा अगाडि बढाउन तयार रहेको बताउनुभएको थियो । प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाईंलगायतको सहभागिता थियो । रासस



प्रतिक्रिया दिनुहोस्