Logo

रुपा गाउँपालिकामा वातावरणीय अनुकूलन गाउँ कार्यक्रम सञ्चालन



पोखरा,८ असार । कास्की जिल्लाको पुर्वी भेगस्थित रुपा गाउँपालिकाको वडा नं २ मा ‘वातावरणीय अनुकुलन गाउँ कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रमअन्तर्गत सुधारिएको भकारो, थोपा सिँचाइ, पानीको मुहान संरक्षण, घैँटो निर्माण, सुधारिएको चुलो, प्लास्टिक पोखरी, टनेल, बलेनीको पानी सङ्कलन र नर्सरी ब्याड निर्माण गर्ने योजना रहेको छ ।

कृषि मन्त्रालय वातावरणीय विभागको रु ५० लाख अनुदान र २० प्रतिशत स्थानीय जनसहभागितासहित कुल रु ६० लाखको लागतमा सो कार्यक्रम सुरु गरिएको गाउँपालिका प्रमुख नवराज ओझाले बताउनुभयो ।

उहाँका अनुसार असार मसान्तसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने लक्ष्यका साथ सञ्चालन भएको सो कार्यक्रमले स्थानीय कृषकको स्वास्थ्यका साथै आयआर्जनमा समेत अनुकरणीय सुधार आउने अपेक्षा गरिएको छ ।

सो वडाका सिकुर्तान, पेलुङ्गा, माझकोट र थुम्कीमा १६६ वटा भकारो सुधार, ६१ वटा सुधारिएको चुलो, ५७ वटा टनेल, ४१ थोपा सिँचाइ, प्लास्टिक पोखरी तीन, बलेनीको पानी सङ्कलन ५७, एक नर्सरी ब्याडलगायत अन्य विभिन्न योजना निर्माण गरिने जागृति कृषि तथा पशुपालन कृषक समूहका सचिव तिलबहादुर थापाले जानकारी दिनुभयो ।

सुधारिएको भकारो निर्माणले गोबर फाल्न सहज हुनुका साथै गाईभैँसीको मूत्र सङ्कलन गरी मौसमी एवम् बेमौसमी अर्गानिक तरकारी उत्पादनमा सहयोग पुग्ने चर्चा गर्दै उहाँ भन्नुहुन्छ कार्यक्रमले यस वडालाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गर्नेछ ।

सो कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि स्थानीय समाजसेवी कृष्णप्रसाद ओझाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिसमेत गठन गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot