Logo

१० वर्ष नेतृत्व गर्न पाउने हो भने देशलाई विकसित देशको दाँजोमा पु¥याइने जिकिर



टीकापुर, ८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैले इमान्दारपूर्वक काम गर्ने हो देशको परिवर्तन गर्न सकिने बताउनुभएको छ ।

माओवादी केन्द्रले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गदै उहाँले आफूले सरकारको नेतृत्व गर्दा इमान्दारीपूर्वक काम ग¥यो भने विकास गर्न सकिँदो रहेछ भन्ने महसुस गरेको बताउनुभयो । “दश महिनाको अवधिमा सरकारले नेतृत्व गर्दा इमान्दारीका साथ जनताप्रति बफादार भएर काम गर्न सक्यो भने विकास गर्न सकिँदो रहेछ भन्ने थाहा भयो ”, उहाँले भन्नुभयो, “मेरो नेतृत्वमा भएका आर्थिक वृद्धिदर र विद्युत्भार कटौतीलगायत विकासका उदाहरण हुन् ।” उहाँले आफ्नो पार्टीले १० वर्ष नेतृत्व गर्न पाउने हो भने देशलाई विकसित देशको दाँजोमा पु¥याइने जिकिर पनि गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले चुनौतीलाई पन्छाउँदै अहिले स्थानीय तहको निर्वाचन सफल भइरहेको बताउँदै अझै पनि केही प्रतिक्रियावादी तत्व निर्वाचन हुन नदिने दाउमा रहेको आरोप लगाउनुभयो । सङ्घीय लोकतन्त्रिक गणतन्त्रको बीउ सबै मिलेर रोपे पनि अझै संस्थागत गर्न खतरा रहेको औँल्याउँदै उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबै मिलेर रोप्यौँ, मलजल गरौँ । अब यसलाई बाली भित्र्याउने बेला जस्तै संस्थागत गर्नुपर्ने छ । तर यही बाली भित्र्याउने बेलामा केही प्रतिगामी चलखेल गर्न सक्दछन् । हामी सतर्क हुनुपर्दछ ।”

उहाँले हिमाल, पहाड तराई÷मधेसलाई एकतामा जोडी सुदृढ गर्ने आफ्नो सपना पूरा भएको पनि बताउनुभयो । अध्यक्ष दाहालले टीकापुर घटनामा लगाइएको झुठ्ठा मुद्दाको खारेजी र पीडितलाई क्षतिपूर्ति दिने कार्य आफ्नै पहलकदमीमा भएको बताउँदै क्षतिअनुसारका राहत दिनु कुनै अपराधीलाई पुरस्कार नभएको स्पष्ट पार्नुभयो ।

जनयुद्ध सफल बनाउन र गणतन्त्र ल्याउन टीकापुरको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले केही साम्प्रादायिक स्वरुप भएका प्रतिक्रियावादीले थारु र पहाडीबीच भएको सद्भाव बिगार्ने प्रयास गरेको आरोप लगाउनुभयो ।

सभामा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दुर्लभ पुन मगर, माओवादीका तर्फबाट प्रमुखका उम्मेदवार ललितबहादुर थापालगायतले टीकापुरको विकास गर्न माओवादी केन्द्रलाई विजयी गराउन आग्रह गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot