Logo

पहिलो चरणमा हाईहाई कमाएका कलाकार नेताहरु दोस्रो चरणको निर्वाचनमा गुमनाम !



धनराज वास्तविक : काठमाडौं, १० असार । पहिलो चरणको निर्वाचनको पूर्वसन्ध्यामा कलाकार र पत्रकारहरुको धेरै चर्चा–परिचर्चा भयो । कति त उम्मेदवार नै बनेर चुनावी मैदानमा होमिएका थिए । ती मध्ये केहीले विजय पनि हाँसिल गरे । तर अधिकांश कलाकार, पत्रकारहरुलाई जनताले चुनावी मैदानबाटै फर्काइदिए ।

राप्रपाको राजनीतिमा होमिएका नायिका रेखा थापा र गायिका कोमल वलीको पनि चर्चा कम थिएन । निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचारमा हेलिकप्टर चढेरै भएपनि विभिन्न विगट जिल्ला जिल्लामा पुगेका यी दुई कलाकारहरुले भनेजस्तो नतिजा हात परेन् । उनीहरु पहिलो चरणको निर्वाचनमा निराशमात्रै बनेनन्, मिडियाबाट नकारात्मक आलोचनाहरु समेत खेप्न बाध्य भए ।

खासमा मुलधारका मिडियाहरुले यी दुईको चुनावी अभियानलाई लिएर ‘थापा र वलीको’ पनि केही चलेन भन्ने शीर्षकमा समाचारहरु रंग्याएका थिए । हुन पनि उनीहरुको चुनावी अभियानको प्रभाव पहिलो चरणको निर्वाचन पर्न सकेन् । र, अन्ततः राप्रपाले नराम्रो पराजय व्यहोर्यो ।

राप्रपामा लागेका कलाकाहरुकोमात्रै नभएर अन्य पार्टीमा होमिएका कलाकार–नेताहरुको पनि उस्तै हालत भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेका कलाकारहरुपनि पहिलो चरणको निर्वाचनमा एक महिने लामो चुनावी दौडाहामा निस्किएका थिए । तर, उनीहरुले पनि अनपेक्षित परिणाम भोग्नुपर्यो । यस्तो भोग्ने कलाकाहरुमा नायिका करिश्मा मानन्धर, नायक सरोज खनाल र कलाकार अशोक शर्मा रहेका छन् ।

पहिलो चरणको निर्वाचनमा जति चुनावी पर्दामा कलाकार नेताहरु छाए, यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कलाकारहरुको नाक, मुख नै देखिएको छैन् । न त उनीहरुको कुनै चर्चा नै अहिले भैरहेको छ । चुनावी मैदानमा पार्टाीका शीर्ष नेताहरु नै होमिएका समाचारहरुले दैनिक पत्रिकाहरु र अनलाईन न्यूज पोर्टलहरु भरिएका छन् । तर, त्यसमा कहीँ कतैपनि कलाकारले पार्टीको लागि भोट माँगेका समाचारहरु पढ्न पाईएको छैन् । यसले पनि देखाउँछ कि पहिलो चरणमा बद्नामी व्यहोरेका कलाकारहरु दोस्रो चरणको निर्वाचनमा भने गुमनाम नै बनेका छन् ।

दोस्रो चरणको निर्वाचन आउन जम्मा ४ दिन बाँकी छ । पर्सीबाट त मौन अवधि नै सुरु हुँदैछ । तर चुनाव आउन जम्मा चार दिनमात्रै बाँकी रहँदा पनि विभिन्न पार्टीमा लागेका कलाकारहरुको भने यतिवेला कुनै चर्चा तथा परिचर्चा भएको छैन । निर्वाचनको मुखमा उनीहरु कता हराए ? भन्ने भन्दै यतिवेला नेपाली राजनीतिमा चर्चा सुरु भएको छ । कतिपयले त कलाकारहरुले राजनीति गरेको फापेन भनेर समेत सार्वजनिक टिप्पणी छेडेका छन् ।

पहिलो चरणको निर्वाचनमा एक्सेसिभ मास बटुल्न सफल राप्रपा नेतृ, केन्द्रिय सदस्य एवम चर्चित नायिका रेखा थापालाई दोस्रो चरणको निर्वाचनले अझैसम्म पनि छोएकै छैन भन्दापनि हुन्छ । उनी यतिवेला आफू अभिनित र निर्देशित ‘रुद्रप्रिया’ नामक चलचित्र छायाङ्कनमा व्यस्त छिन् । पँक्तीकारसँगको कुराकानीमा थापाले भनिन्,‘म अहिले मेरो होम प्रोडक्सनमा निर्माणाधिन चलचित्रको अन्तिम छायांकनमा व्यस्त छु, यो प्रोजेक्ट लास्ट आवरमा छ्, यो सकिन अझै एक हप्ता लाग्छ, त्यसैले म चलचित्रमै व्यस्त छु।’

उता राप्रपाकै चर्चित नेतृ एवम् केन्द्रिय सदस्य तथा गायिका कोमल वलिलाई पनि चुनावले खासै छोएको छैन । बरु, उनी चुनावको मुखमा तीजको गीतमा व्यस्त छिन् । वलीले आफू गीतमा नै व्यस्त रहेको बताएपनि अहिलेसम्म उनी सार्वजनिक कार्यक्रममा भने देखिएकी छैनन् । यसको मतलब, उनलाई पनि राजनीतिप्रति वितृष्णा जाग्दै गएको त होईन भनेर सहजै अड्कल गर्न सकिन्छ ।
यस्तै हालतमा बसेकीछिन् नायिका करिश्मा मानन्धर । उनलाई त कतिसम्म भने राजनीतिक निल्नु नै ओकल्नु बन्न पुगेको छ । पहिलो चरणको निर्वाचनमा भोटर लिष्टमा आफ्नो नाम पति विनोद मानन्धरले हटाईदिएकोले मतदान गर्न नपाएको भन्दै मिडियामा नै पतिको सार्वजनिक दोहोलो काढेकी थिईन् । मानन्धर नयाँ शक्ति नेपालमा लागेर राजनीतिक भविष्य खोजिरहेकी भएपनि पछिल्लो समय उनी गुमनाम प्रायः छिन् । उनको राजनीतिक यात्रामा लगभग बे्रक नै लागेको भन्दापनि हुन्छ । पार्टीका सार्वजनिक गतिविधि तथा कार्यक्रमहरुमा त्यति सक्रिय नुहुनु पनि करिश्माको राजनीतिक मोह भंग भएको अर्को प्रमाण हुन सक्ने राजनीतिक विश्लेषकहरुको दाबी छ ।

त्यस्तै नयाँ शक्तिमा सक्रिय राजनीति गरिरहेका नायक सरोज खनाल पनि पार्टीका राजनीतिक गतिविधि भन्दापनि चलचित्र क्षेत्रमै आफ्नो समय व्यतित गरिरहेका छन् ।
पार्टीको चुनावी अभियानमा होमिएकी कलाकारमा यतिवेला चर्चाको शिखरमा छिन्–गायिका राधिका हमाल । उनी माओवादीको जन्मथलोका रुपमा चिनिएकोे रोल्पा जिल्ला पुगेर आफ्नो पार्टी नेपाली कांग्रेसको चुनावी अभियानलाई तिव्रतामात्रै दिएकी छैनन कि आफूलाई समेत भोट माँगिरहेकी छिन् । हमाल आँफै चुनावी मैदानमा छिन् । उनी रोल्पाको त्रिवेणी गाउँपालिकाको लागि कांग्रेसबाट उप–प्रमुखको उम्मेद्ववार बनेकी छिन् ।

घरदैलो अभियानमा रहेकी हमाल आफुलाई जनताले जिताएरै पठाउनेबारे पूर्ण विश्वस्त छिन् । उनी देस्रो चरणको निर्वाचनको चुनावी मैदानमा भएपनि खासै चर्चा पाएको देखिँदैन् । हुन गायिक हमालको छवि राष्ट्रिय स्तरको नै छ, तर उनलाई राष्ट्रिय स्तरका मिडियाले त्यति महत्व दिएको पाईदैन् । आशा गरौं, उनी रोल्पाबाट रित्तो हात राजधानी आउँने छैनन् । गीत गाउनको लागि स्टेज चढ्ने समय जनताको दुःख र जेलोसँग नजिक हुनेछिन् । रोल्पाका जनताले हमाललाई के गर्छन् ? त्यो जान्नको लागि केही समय कुर्नैपर्छ।

राजनीतिक दलहरूले काम पर्दा मात्रै आफुहरुलाई उपयोग गर्छन् भनेर आरोप लगाउने कलाकार आफै चुनावी मैदानमा जानुपर्छ भन्ने मान्यताका आधारमा उनीहरु उम्मेदवार बनेको स्पष्ट छ । राजनीतिक विचार र नेतृत्वदायी क्षमता भन्दापनि चर्चा–परिचर्चाको आधारमा निर्वाचनमा भाग लिनु कलाकारको गल्ती हो भन्दा अन्यथा नहोला ।
यसरी कलाकार र पत्रकारहरू जनताबाट किन रित्तो फर्किए भन्ने कुराको सहज अनुमान गर्न सकिन्छ कि कलाकार र पत्रकारहरूले राजनीति गरेको जनताले मन पराएनन् । त्यसैले जनताले मैदानबाटै उनीहरुलाई रित्तो हात फर्काईदिए ।

हुन पनि हो राजनीतिक चर्चा र उमेरले हुने र गर्ने होईन । राजनीति त विचार र एजेण्डा भएकाले गर्ने हो । नेतृत्व गर्न सक्नेले गर्ने हो । धन गुमाउनेले केही गुमाउँदैन। मन गुमाउनेले बरु केही गुमाएको हुन्छ । तर विचार र हौसला, साहस गुमाएकाहरुले धेरै थोक गुमाउनुपर्छ भन्ने मान्यता कलाकार र पत्रकारसँग स्थानीय तहको निर्वाचनको समयमा मिल्न गएको छ।

कलाकार समाजको ऐना हुन् । नेपालका हरेक अग्रगामी र परिवर्तनकारी जनआन्दोलन सफल पार्नको लागि कलाकारहरुको महत्वपूर्ण योगदान छ । ००७ सालदेखि आजसम्मको ईतिहाँसलाई फर्केर हेर्ने हो भने उनीहरु यसको लागि बलियो हतिारको रुपमा प्रयोग भएकै हुन् । तर कलाकार आफैमा राजनीतिज्ञ होईनन् भन्ने कुरामा दुई मत नहोला । कलाकारले पनि राजनीति गरेका विश्वमा धेरै उदाहरणहरु छन् । अरुको नक्कल गरेर राजनीतिमा होमिनुभन्दापनि मुलुक र जनताको जीवनस्तर उकास्न र मुलुकको आर्थिक समृद्धिको लागि राजनीतिमा कलाकार लाग्नु अनौठो पनि होईन । अरु त जे होस् ।



प्रतिक्रिया दिनुहोस्