Logo

अब हुने सबै निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ : पम्फा भुषाल



काठमाडौं, ११ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेकीछिन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ भुषालले आफ्नो पार्टीले जनताको पक्षमा काम गरेकोले दोस्रो चरणको निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरेकी हुन् । उनले भनिन्,‘हुन त पहिलो चरणको निर्वाचनमापनि हाम्रो त अपेक्षा धेरै नै थियो, तर सोचेजस्तो भएन, अब दोस्रो चरणको निर्वाचनमा हामी पहिलो बन्छौं, धेरै सकारात्मक भोट ल्याउँछौं ।’ नेतृ भुषालले केन्द्रिय संसदको चुनाव हुँदासम्म आफ्नो पार्टी पहिलो बन्ने दाबी समेत गरिन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले चुनावप्रति जनताको आर्कषण बढ्दो भएकोले दोस्रो चरणको निर्वाचनमा पहिलो चरणको भन्दा बढि उत्साहजनक रुपमा मतदाताहरुको सहभागिता हुने विश्वास व्यक्त गरिन् । दोस्रो चरणको निर्वाचनमा पार्टी नेतृत्व नै चुनावी अभियान लिएर जनताको बीचमा पुगेकोले परिणाम सुखद् आउने उनको दाबी थियो ।

नेतृ भुषालले थपिन्,‘हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजी अहिले आँफै चुनावी अभियान लिएर देश दौडाहामा निस्किनुभएको छ, आजमात्रैपनि उहाँ खोटाङ्, भोजपुर लगायतका पहाडी विगट जिल्लामा पुग्नुभएको छ, हाम्रो संगठन सुदृढ छ, हामी दोस्रो चरणको निर्वाचनमा धेरै राम्रो गर्छौ।’

उनले अहिले जनता चुनावमा भोट हाल्न आतुर रहेको बताउँदै भनिन्,‘राजपाले चुनावमा भाग नलिएपनि राजपाका नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ, यो निर्वाचनप्रतिको उत्साह हो।’ भुषालले थपिन्,‘मतको हिसाबले तीनै पार्टी उस्तै अवस्थामा छन्, मधेशमा पनि हाम्रो अवस्था राम्रो छ, मधेशलाइै अधिकारसम्म बनाउनको लागि हाम्रै पार्टीले सुरुमा एजेण्डा बोकेको हो, त्यसैले २ नम्बर प्रदेशमा हुने निर्वाचनमा पनि हाम्रो पार्टी नै पहिलो बन्छ ।’

सरकार गठनकै अवस्थामा रहेकाले चुनाबपछि मन्त्रिपरिषदले पुर्णता पाउने उनको भनाई थियो । नेतृ भुषालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नै बाँकी रहेका केन्द्र र संघिय संसदको चुनाब गराउने विश्वास व्यक्त गरिन् ।

त्यस्तै उनले असन्तुष्ट पक्षलाई सम्बोधन गर्न आवश्यक दुई तिहाइ र्पुयाएर संविधान संशोधन पनि गर्ने जनाईन् । उनले भनिन्,‘संसदमा दुई तिहाईको सुनिश्चितता भएपछि संविधान संशोधन पनि हुन्छ, वर्तमान सरकार संविधान संशोधनप्रति अत्यन्तै सकारात्मक छ।’



प्रतिक्रिया दिनुहोस्