Logo

निर्वाचन आयोगको गतिविधि शंकास्पद छ, कांग्रेसले मधेशमा भोट माँग्न प्रहरी प्रयोग गरिरहेको छ : महासेठ



काठमाडौं, ११ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुबीर महासेठले दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले ५० प्रतिशत स्थानमा विजय हाँसिल गर्ने दाबी गरेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले देशव्यापी रुपमा एमालेको पक्षमा जनलहर भएकोले दोस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टी नै पहिलो हुने दाबी गरेका हुन् । उनले भने,‘म आँफै चुनावी अभियानमा प्रायः सबै जिल्ला घुमेको छु, एमालेको पक्षमा व्यापक जनलहर छ, हामी ५० प्रतिशत ल्याउँछौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता महासेठले आफ्नो पार्टीविरुद्ध सरकारमा बस्ने पार्टीहरुले षडयन्त्र गरिरहेको समेत आरोप लगाए । उनले भने,‘हामीले त चरण चरणको निर्वाचन माँग गरेका थिएनौं, हामीले ७ वटै प्रदेशमा एकै चरणमा निर्वाचन हुनुपर्छ भनेका थियौं, तर सरकारमा बसेका पार्टीहरुले देशव्यापी रुपमा एमालेले जित्छ भन्ने थाहा पाएपछि हामीविरुद्ध षड्यन्त्र गर्नुभयो, र चुनाव सार्नुभयो।’

नेता महासेठले सरकारको लाचारीपनको कारण निर्वाचन पटक पटक सार्ने काम भएको समेत आरोप लगाए । उनले भने,‘एमालेको जितलाइ रोक्न षड्यन्त्र गरेर सरकारले चुनाब सारेको हो, तर जति पटक चुनाव सारेपनि एमालेलाई जनताले विश्वास गरेका छन्, समग्र रुपमा एमालेले दोश्रो चरणको निर्वाचनमा एमालेले ५० प्रतिशत मत ल्याउँछ ।’ उनले सुरक्षा निकाय र अनुशन्धान निकायहरुले २ नम्बर प्रदेशमा पनि एमाले नै अग्रपँक्तीमा रहेको सुचना दिएपछि २ नम्बर प्रदेशको निर्वाचन सारिएको आरोप लगाए ।

महासेठले सरकारले एमालेको बिरुद्धमा जनताको मत किन्न शान्ति मन्त्रालयमार्फत अरबौं रकम चोर बाटोबाट बाँड्न लागेको समेत आरोप लगाए । उनले भने,‘अहिले हामीले थाहा पाए अनुसार सरकारले ८ अर्ब ७१ करोड रुपैयाँ चोर बाटोबाट मत खरिद गर्न लागेको छ, यो कहाँसम्म न्यायसंगत हो ? ’ उनले एमालेविरुद्ध अर्थात एमालेलाई रोक्नको लागि ५० अर्ब रुपैयाँ खर्च गरेपनि एमालेलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गरे ।

उनले चितवनको भरतपुर घटना नदोरियोस भनेर कार्यकर्तालाई सजग गराइएको उल्लेख गर्दै भने,‘फेरि भरतपुरकोजस्तो भट्ना नघटोस् भनेर हामीले सजग गरेका छौं, तर निर्वाचन आयोगको क्रियाकलाप पनि शंकास्पद छ, हामी सर्वोच्च अदालतको निर्णय आत्मसात् गर्छौं।’ उनले चितवनको भरतपुरजस्तो मतपत्र च्यात्ने घट्ना रोक्नको लागि हात र खुट्टामा हतकडी लगाउनुपर्ने र मुखमा स्थायी खालको मास्क लगाउने व्यवस्था गर्नुपर्ने समेत माँग गरे ।

उनले भने,‘निर्वाचन अधिकृतलाई पनि डाईपरको व्यवस्था गर्नुपर्छ, साँच्चिकै ट्वाईलेट जानुपर्ने बाध्यता थियो कि थिएन, वा के भएको थियो भन्ने कुरा पत्ता लगाउनको लागि कल डिटेल हेर्नुपर्दथ्यो ।’ उनले यस्ता कुराहरु गर्न आयोगले कुनै चासो नदेखाएकोले आयोगको क्रियाकलाप पनि शंकास्पद रहेको आरोप लगाए ।
त्यस्तै उनले निर्वाचनको मुखमा जानाजान आयोगको सचिवको सरुवा हुनुलाईपनि अर्को षडयन्त्रको संज्ञा दिए । नेता महासेठले मधेशमा एमालेको विरुद्धमा प्रहरी प्रयोग गरेर कांग्रेसले भोट माँगिरहेको समेत आरोप लगाए ।

उनले भने,‘प्रहरीले गस्ती गर्ने गाडीमा तस्करी भैरहेको छ, चौकीमा भोज भतेर भैरहेको छ, तर सरकार चुप लागेर बसेको छ।’ उनले तरार्इृमा प्रहरीको गुण्डाराज सुरु भएको आरोप लगाए । उनले भने,‘जो–जो प्रयोग गर्नुहोस्, तर जनताले हामीलाई विश्वास गरेका छन्, एमालेलाई भोट हाल्नुहुन्छ, तपाईहरुको केही चल्दैन्।’

उनले तराईमा एमाले सकियो भन्नेहरु प्रहरीकै बर्दीमा प्रहरीको गाडीमा मत माग्ने काम भैरहेको बताए । उनले भने,‘नेपाली कांग्रेसले अहिले तराईमा खासगरी धुनषामा प्रहरीको गुन्डाराज सुरु गरेको छ, सुरक्षा निकाय तटस्थ बस्नु पर्नेमा कांग्रेसको झण्डा लिएर हिडिँरहेको छ।’ उनले धनुषामा यसरी भएको प्रहरी प्रयोगबारे एसपीसँग जानकारी लिन खोज्दा माथिको आदेश छ भन्दै पन्छिन खोजेको स्पष्ट पारे । उनले भने,‘माथिको आदेश भनेको के हो ? आईजीसापको हो, वा कसको हो ?’

उनले राजपा चुनावमा आउँदा एमालेलाई दुःख हुन्छ भनेर कांग्रेस नेता विमलेन्द्र निधिले अन्र्तवार्ता दिएकोप्रति टिप्पणी गर्दै भने,‘एमालेलाई होईन, कांग्रेसलाई दुःख हुन्छ, सरकारले षड्यन्त्र गरेर राजपालाई चुनाबमा आउन रोकिरहेको छ, राजपा चुनावमा आए आफ्नो मत काटिने देखेर कांग्रेसले उसलाई चुनाबमा आउन रोकेको हो ।’

त्यस्तै उनले तेस्रो चरणमा हुने २ नम्बर प्रदेशको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे । उनले भने,‘जति चरणमा निर्वाचन गरेपनि एमाले पहिलो पार्टी बन्छ, जनताले एमालेलाई विश्वास गरेका छन्।’



प्रतिक्रिया दिनुहोस्

Screenshot