Logo

दोस्रो चरणको निर्वाचनपछि हामी सरकारमा जान्छौं : राणा



काठमाडौं, ११ असार । राप्रपाका शीर्ष नेता पशुपतिशमशेर राणाले दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । उनले भने,‘असार १४ गतेको निर्वाचन सम्पन्न भएपछि हाम्रो पार्टी सरकारमा सहभागी हुन्छ, सरकारमा सहभागी हुनेबारे गृहकार्य भैरहेको छ, हामीले समर्थन गरेको सरकारमा सहभागी नहुने भन्ने कुरै हुँदैन, तर कति ओटा मन्त्रालय लिने भन्नेबारे अझै निर्णय भएको छैन, तीनदेखि चार वटा मन्त्रालय पाउनुपर्छ भन्ने हाम्रो दाबी छ।’

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता राणाले दोस्रो चरणको निर्वाचनमा पार्टीले पहिलो चरणकोभन्दा धेरै राम्रो मत ल्याउने दाबी समेत गरे । उनले भने,‘पहिलो चरणको निर्वाचनभन्दा यस पटकको निर्वाचनमा हाम्रो पार्टीले सकारात्मक भोट ल्याउँछ, झापा, सुनसरी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलालीमा हामी राम्रो गर्छौं।’ उनले तराईमा राप्रपाले राम्रो मत पाउने र जित्ने दाबी गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले निर्वाचनप्रति जनताको अत्यन्तै उत्साहजनक सहभागिता रहेको बताउँदै पहिलो चरणकोभन्दा बढि मत दोस्रो चरणको निर्वाचनमा खस्ने विश्वास समेत व्यक्त गरे । उनले भने,‘नेपाली जनता चुनाबमा भाग लिन अत्यन्त आँतुर छन्, निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन्छ भन्ने मैले विश्वास लिएको छु।’

संविधानप्रति असन्तुष्ट राखेका दलहरुको माँग सम्बोधन गर्नको लागि यसअघिको सरकार र अहिलेको सरकार गम्भिर भएर लागिरहेको बताउँदै राजपालाई चुनावमा सहभागी गराउन स्थानीय तहको निर्वाचन पटक पटक सारिएको जिकिर गरे ।

उनले भने,‘राजपाले चुनावमा भाग नलिए पनि उहाँहरुका नेता तथा कार्यकर्ताहरुले चुनाबमा भाग लिनुभएको छ, यो अत्यन्तै खुशीको कुरा हो, हुन त शीर्ष नेताले नै चुनाबमा प्रचार गरिरहेका छन्।’

उनले तराई मधेशमा अर्को अतिवादी शक्ति उदाउने खतरालाई मध्येनजर गर्दै मधेसको कुरामा सरकारले विशेष ध्यान दिएर अगाडि बढ्नुपर्ने बताए । उनले भने,‘मधेसलाई संबैधानिक सिस्टममा ल्याउनुपर्छ र उहाँहरुको मुख्य माँग भनेको जनसंख्याको आधारमा प्रतिन्धिित्व गर्ने भएकोले समाबेशी बनाउन संबैधानिक निकायमा सबै क्षेत्र समेट्नुपर्छ।’

उनले मुलुकलाइ हिन्दुराष्ट्र बनाउन आफ्नो पार्टीको मुख्य एजेण्डा भएकोले व्यवस्थापिका–संसदमा पार्टीको उपस्थिति कमजोर रहेकाले संशोधन दर्ता हुन नसकेको स्पष्ट पारे । उनले भने,‘अहिले हामी जम्मा ३७ जनामात्रै छौं, अहिले संशोधन दर्ता गरेर पास हुने अवस्था छैन्।’



प्रतिक्रिया दिनुहोस्

Screenshot