Logo

असार १४ गतेको स्थानीय तहको निर्वाचनमा कुन नेताले कहाँबाट मतदान गर्ने ? (सूचिसहित)



काठमाडौं, १२ असार । यही असार १४ गते हुने निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ । निर्वाचन आयोगले सम्पूर्ण तयारी भैसकेको जानकारी दिएको छ । यता चुनावी अभियान गर्न नपाउने भनेर मौन अवधिपनि सुरु भएको छ ।

पर्सी बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मुलुकका धेरै शीर्ष नेताहरुले भोट हाल्दैछन् । दोस्रो चरणको निर्वाचनमा भोट हाल्नेमा मुलुकका प्रधानमन्त्री एवम् प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि लिएर अन्य थुप्रै शीर्ष नेताहरु रहेका छन् ।

पहिलो चरणको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आ–आफ्नो मतदाता नामावाली भएको स्थानमा भोट हालिसकेका छन् । यी मध्ये केपी शर्मा ओलीले यसपटक भक्तपुरको बालकोटबाट मतदान गरेका हुन् भने अन्य शीर्ष नेताहरुले आफ्नो गृहजिल्लाबाट मतदान गरेका थिए । पहिलो चरणको निर्वाचन अन्र्तगर्त राप्रपा बरिष्ठ नेता पशुपतिशमशेर राणा र राप्रपा अध्यक्ष कमल थापाले पनि आ–आफ्नो गृहजिल्लाबाट मतदान गरिसकेका छन् ।

दोस्रो चरणको निर्वाचनमा भने प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवाले डढेलधुराबाट मतदान गर्ने कार्यक्रम रहेको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले पनि आफ्नै गृहजिल्ला बैतडीबाट मतदान गर्नेछन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालले ईलामबाट मतदान गर्नेछन् । एमालेकै अर्का शीर्ष नेता सुवासचन्द्र नेम्बाङलेपनि इलामबाट मतदान गर्नेछन् । दोस्रो चरणको निर्वाचन अन्र्तगर्त शीर्ष नेताहरु वामदेव गौतमले प्युठानबाट, खुमबहादुर खड्काले दाङबाट, सिपी मैनालीले झापाबाट, कृष्ण सिटौलाले झापाबाट, उपेन्द्र यादवले सुनसरीबाट, शेखर कोइरालाले विराटनगरबाट, भीम रावलले अछामबाट, सुजाता कोइरालाले सुनसरीबाट मतदान गर्नेछन् । त्यस्तै हालका उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरालेपनि दाङबाट मतदान गर्नेछन् ।

एमाले नेताहरु विष्णु पौडेल र घनश्याम भुषालले रुपन्देहीबाट मदादन गर्नेछन् । दोस्रो चरणको निर्वाचन अन्र्तगर्त प्रमुख दलका दोस्रो तहका नेताहरुलेपनि आफ्नो गृहजिल्लाबाट मत हाल्नेछन् । दोस्रो तहका नेताहरुमा गोकर्ण विष्ट गुल्मी, दिपक खड्का संखुवासभा, सुनिलबहादुर थापा धनकुटा, रमेश लेखक कञ्चनपुर, एनपी साउद कञ्चनपुर, वर्षमान पुन अनन्त रोल्पा, दिपक बोहरा, युवराज ज्ञवाली दाङ, शंखर पोखरेल, प्रदिप ज्ञवाली गुल्मी, बालकृष्ण खाँड रुपन्देही लगायत रहेका छन् । त्यस्तै यो पटकको निर्वाचन सभामुख ओनसरी घर्तीमगरलेपनि मतदान गर्नेछिन् ।

तेस्रो चरणको निर्वाचनमा मत हाल्ने प्रतिक्षामा को–को छन ?

तेस्रो चरणको निर्वाचन असोज २ गते हुँदैछ । उक्त निर्वाचनमा मतदान गर्नेहरुमा तराई मधेशबाट प्रतिनिधित्व गर्ने शीर्ष नेताहरु रहेका छन् । तेस्रो चरणको निर्वाचनमा मतदान गर्ने नेताहरुमा सबैभन्दा शीर्ष नेतामा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल रहेका छन् । त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, विमलेन्द्र निधि, एमाले शीर्ष नेता रघुवीर महासेठपनि तेस्रो चरणको निर्वाचनमा मत हाल्ने प्रतिक्षामा छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्