Logo

निर्वाचन आयोगले नै आचारसंहिता उल्लंघन गर्यो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ



भोलि हुने निर्वाचनमा मतदाताहरुको उल्लेख्य सहभागिता हुन्छ : शिवाकोटी
मतदाताहरु मतदान गर्ने व्यग्र प्रतिक्षामा छन्, दल र सरकारले वातावरण बनाईदिनुपर्छ :धमला
काठमाडौं, १३ असार । पूर्व प्रमुख निर्वाचन आयूक्त सुर्यप्रसाद श्रेष्ठले निर्वाचन आयोगले नै आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वआयूक्त श्रेष्ठले निर्वाचन आयोगले निर्वाचनको मुखमा आएर आयोगका सचिवको सरुवा गर्नु नै निर्वाचन आचारसंहिता विपरित भएको बताएका हुन। उनले भने,‘आयोगले नै आचारसंहिता उल्लंघन गर्यो, निर्वाचनको मुखमा आएर सचिवको सरुवा गर्नु आचारसंहिता विपरित हो, यसमा आयोग चुकेको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पूर्व प्रमुख आयुक्त श्रेष्ठले भोलि हुने निर्वाचनमा मतदाताहरूले जस्तोसुकै परिस्थितिमा पनि मदान गर्ने बताएका छन्। उनले अहिले मध्य वर्षाको समय भएपनि झरी पर्दा धान रोप्न छोडेर आम मतदाताहरु मतदान गर्न आउने बताए ।

उनले सरकारले तनावपूर्ण स्थीतिमा निर्वाचन गर्न लागेको बताउँदै भने, जनता मतदान गर्नको लागि आकुल–ब्याकुल छन्, २० वर्षपछि जनताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने अवसरलाई सदुपयोग गर्नेमा छन्, बर्षा, झरी, गर्मी केही नभनी जनताले आफ्नो अधिकार र लोकतन्त्रप्रतिको ईमानदारिता देखाउँदै छन्, जनताको यस कार्यलाई स्वागत र सम्मान गर्नुपर्छ।

सरकारले निर्वाचनको मिति सार्ने काममा सचेतना पुगाउन नसकेको बताउँदै भने,‘सरकार केही हदसम्म चुकेको छ, जनताले त्यसलाई माफि पनि दिएका छन्, धैर्यताका साथ दुःख गर्न तयार छन्, निर्वाचन आयोगको काम सह्रानिय छ, बाहिरबाट हेर्दा सजिलो भएपनि काम गर्न निक्कै गाह्रो हुन्छ, तरपनि आयोगले काम गरेको छ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोग) का महासचिव डा. गोपालकृष्ण शिवाकोटीले भोलि हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने र मतदाताहरुको उल्लेख्य रुपमा सहभागिता हुने बताएका छन् । यद्धपी उनले तस्रो चरणको निर्वाचन भने अनिश्चित् बनेको दाबी गरे।

निर्वाचनको मिति सार्ने कामले प्रदेश र संसदको चुनावलाई समेत असर पर्ने भएको भन्दै तेस्रो चरणको निर्वाचन नै अनिश्चित प्रायः बनेको स्पष्ट पारे । उनले भने,‘सरकारले निक्कै तनावकाबीचमा निर्वाचन सम्पन्न गर्दैछ, पहिलो र दास्रो चरणको निर्वाचनले केही अनुभव प्राप्त गरेपनि तेस्रो चरणको निर्वाचन के हुने हो भन्ने शंका पलाएको छ, यस समयमा निर्वाचन स्थलको ताजा जानकारी र परिस्थितिलाई जनताकोबीचमा पुर्याउनको लागि हाम्रा पर्यवेक्षक स्थलगत रुपमा उपस्थित हुनुहुन्छ, यस निर्वाचनमा जनताले लोकतन्त्रप्रतिको ईमान्दारिता हदैसम्म देखाएका छन्, त्यसको कदर हुनुपर्छ।

निर्वाचन आयोगले मतदाताको निम्ति आधारभूत आवश्यकत्ता पुर्ति गर्नेमा ध्यान दिनुपर्ने बताए । उनले भने,‘किरियापुत्री, सुत्केरी, बृद्धा अपांगता भएका व्यक्तिलाई विशेष ध्यान दिनुपर्छ, त्यस्तै ओत लाग्ने पाल, खानेपानीजस्ता विषयमा सजक हुनुपर्छ, जनताहरू सिंहदरवारको अधिकार आफ्नै घर–आँगनमा लिनको लागि ब्याकुल छन्, उत्साहपूर्वक रुपमा उपस्थिति जनाउँदैछन्, यसमा सञ्चारकर्मीको पनि महत्वपूर्ण भूमिका छ ।

क्लबका सभापति ऋषि धमलाले भोलि हुने दोस्रो चरणको निर्वाचनमा आम मतदाताहरुले उत्साहजनक रुपमा सहभागिता जनाउनुपर्ने बताए । उनले भने,‘निर्वाचन लोकतन्त्रलाई बलियो बनाउने उत्कृष्ट माध्यम हो, त्यसैले भोलि जनताहरुको ठूलो सहभागिता हुने मैले विश्वास लिएको छु।’

उनले मतदान गर्न व्यग्र प्रतिक्षामा रहेका आम मतदाताहरुको लागि सरकार र दलहरुले शान्तिपूर्ण वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

 



प्रतिक्रिया दिनुहोस्