Logo

नेतृत्वको सक्रियताले अमेरिकी एनआरएनलाई हेर्ने नेपाल सरकारको दृष्टिकोण फेरियो



नयाँ पुस्तामा एनआरएनप्रति बढ्दो चासो

वासिङ्टन डिसी, अमेरिका, १३ असार । गैरआवासीय नेपाली संघ, अमेरिकाको आँकडाअनुसार अढाई लाख आप्रवासी नेपाली भनिएको अमेरिकामा पछिल्ला वर्ष एनआरएन मजबुत र संस्थागत हुन थालेको पूर्व नेतृत्व तथा स्वतन्त्र व्यक्तिहरुले बताएका छन् । एनआरएन नेतृत्वको सक्रियताका कारण संयुक्त राज्य अमेरिकाको एनआरएनलाई नेपाल सरकारले हेर्ने दृष्टिकोणसमेत फेरिएको बुझिएको छ । नेपाल सरकारले न्यूयोर्कमा कर्मचारीसहितको छुट्टै कन्सुलेट कार्यालय स्थापना गरेर उक्त कुरा प्रमाणित गरिसकेको छ ।

वर्षांैदेखि संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोग कार्यालयको एक कुनामा खुम्चिएको कन्सुलेटलाई एनआरएनकै सक्रियतामा छुट्टै कार्यालय स्थापना गर्न सम्भव भएको थियो भने यसै वर्षदेखि पश्चिम तटीय क्षेत्र क्यालिफोर्नियामा पनि कन्सुलेट कार्यालयको सेवा शुरु भइसकेको छ । अवैतनिक वाणिज्य दूत ऋषि ढकाललाई पदोन्नति गरेर क्यालिफोर्निया क्षेत्र हेर्ने गरी नेपाल सरकारले अवैतनिक महावाणिज्य दूत बनाएको छ ।

अवैतनिक महावाणिज्य दूत ऋषि ढकाल एनआरएन अमेरिकाका सल्लाहकार हुन् । उक्त व्यवस्थापछि त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले राहदानीका लागि न्यूयोर्क र डिसी धाउनुपर्ने छैन भने भिसा सेवासमेत सहज भएको छ ।

डा. केशव पौडेल नेतृत्वमा आइसकेपछि सदस्यता संख्यासमेत ह्वात्तै बढेको प्रतिक्रिया दिँदै डा. पुरु श्रेष्ठ भन्छन्– युवाहरुको पनि चासो बढेको छ । पछिल्लो कार्यकालमा एनआरएन अमेरिकाले यहाँ मात्र होइन नेपालमा समेत धेरै महत्वपूर्ण काम गरेको छ । नेपालमा महाभूकम्प जाँदा एनआरएन अमेरिकाले गरेको सहयोग र भूमिका निकै महत्वपूर्ण रह्यो । तर, विडम्बना काम गर्नेलाई स्वतःस्फूर्त काम गर्ने वातावरण नदिएको हो कि जस्तो देखियो, मुद्दा–मामिलाहरु एनआरएन अमेरिकामा देखियो । एनआरएन अभियन्ता पनि भएको नाताले भन्नुपर्दा संस्थागत स्वरुपमा बिस्तारै झांगिदैं गएको एनआरएन अमेरिकालाई सबै मिलेर अझ बलियो बनाउन आवश्यक देखेको छु । नेपाल र यहाँ दुवै ठाउँमा सहयोग गर्न सक्ने संस्था बनाउन सबै एक हुनु जरुरी छ ।

गैरआवासीय नेपाली संघको विश्वभर छरिएर रहेका करिब ६ दर्जन राष्ट्रिय परिषद्मध्ये अमेरिकाले सबैभन्दा धेरै सदस्य भएको राष्ट्रको उपाधि डा. केशव पौडेल नेतृत्वमा आउँदा प्राप्त गरेको थियो भने यो वर्ष पनि त्यो उपाधि कायम नै छ । हाल अमेरिकामा १४ हजार एनआरएन सदस्य छन् । स्थापनाकालदेखि नै एनआरएनमा सक्रिय पूर्वअध्यक्ष शिवकुमार राई पनि यो कुरा स्वीकार्दै भन्छन्– ‘पछिल्ला वर्ष एनआरएन अमेरिकाप्रति निकै चासो बढिरहेको छ । सदस्यहरुमा व्यापक वृद्धि हुँदै गएको छ । अनावश्यक मुद्दामामिलाको झन्झटमा एनआरएन अमेरिका नफसेको भए निकै राम्रो हुने रहेछ ।’ राईले एनआरएन अमेरिकाको दायरामा निकै वृद्धि भएकाले सबैलाई समेटेर लैजाँदा संस्थाको भलो हुने बताए ।

एनआरएन अमेरिकाका बारेमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वअध्यक्ष जीवा लामिछानेले पनि निकै राम्रा कामहरु भएको बताए । ‘गैरआवासीय नेपाली संघ अमेरिकाले धेरै राम्रो काम गर्दै आएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को म अध्यक्ष हुँदादेखि अहिले बाहिर बसेर हेर्दासमेत एनआरएन अभियानमा अमेरिका एउटा महत्वपूर्ण देश हुन पुगेको छ,’ उनले भने– ‘यो अमेरिकी एनआरएनको पछिल्लो नेतृत्व क्षमताकै कारण सम्भव भएको हो ।’

यसै वर्षदेखि गैरआवासीय नेपाली संघ, अमेरिका र अमेरिका क्षेत्रका डेपुटी रिजल कोअर्डिनेटर एसी शेर्पाको पहलमा वासिङ्टन, सियाटलमा समेत अवैतनिक वाणिज्य दूतको कार्यालय स्थापना भएको छ भने टेक्सस राज्यका लागि पनि पहल भइरहेको एनआरएन अध्यक्ष केशव पौडेलले जानकारी दिए । अर्को सकारात्मक पक्ष एनआरएन अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जिसीलाई नेपाल सरकारले परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकारमा नियुक्त गरेको छ । यो नियुक्ति पनि अमेरिकामा एनआरएन गतिविधिमा व्यापक वृद्धि भएकै कारण नेपाल सरकारको दृष्टिकोणमा आएको परिवर्तनको परिणाम भएको जानकारहरु बताउँछन् ।

१२ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका एनआरएन अमेरिकाका सल्लाहकार डा. रुद्र अर्याल पनि अहिले एनआरएन अमेरिका सबैले चिन्न, जान्न खोज्ने संस्था बनेको दाबी गर्छन् । ‘सन् २०१३ अगाडि यो संस्था एउटा झुण्ड र क्लबजस्तो थियो, अहिले नेपालीले खोजी गर्ने संस्था बन्दै गएको छ,’ उनले भने– ‘अहिले यो नेपालमा केही पर्दा काँध थाप्ने संस्था बनेको छ ।’ निर्वाचितपछिको अधिकांश समय मुद्दामामिलामै बिते पनि डा. पौडेल नेतृत्वले चर्चा गर्नलायक केही महत्वपूर्ण कार्य भने गरेको उनी बताउँछन् । ‘सोही बेला नेपालमा महाभूकम्प पनि आयो, जसले गर्दा एनआरएन अमेरिकाको प्राथमिकताको क्षेत्र पनि त्यो बन्न पुग्यो,’ डा. अर्याल भन्छन्– ‘तर, नेपालको महाभूकम्प होस् या यहाँ संस्थागत विकासको आधारशिला तय गर्ने कुरा होस्, केही महत्वपूर्ण काम भने अवश्य भएको छ ।’

त्यस्तै, डा. अम्बिका अधिकारीले नेपाली डायस्पोराको प्रतिनिधिमूलक र साझा मञ्चका रुपमा रहेको एनआरएन अमेरिकामा सदस्यहरु बढ्ने क्रम शुरु भए पनि यो अहिले नै परिपक्व भने भइनसकेको बताउँछन् । उनले सबैलाई समेटेर संस्था अगाडि बढाउनुपर्ने सुझाव दिए । उनी भन्छन्– ‘सहमति नभए पनि स्वच्छ प्रतिस्पर्धाका माध्यमबाट संस्थालाई अगाडि बढाउनुपर्छ । संस्थामा फाटो कोही–कसैले पनि गर्नुहँुदैन । सबल, सक्षम र अनुभवी नेतृत्वले मात्र दीर्घकालीन लक्ष्यका साथ कामको सुरुवात गर्न सक्छ ।’

नयाँ पुस्तामा एनआरएन चासो

कोलोराडो बोल्डर बस्दै आएका विष्णु पाठकलाई एनआरएन अमेरिकाको सदस्यता लिने चाहना जागृत भएको छ । ६ वर्षदेखि त्यहाँ बस्दै आएका २९ वर्षीय उनी नेपाली संघसंस्थामा सक्रिय रहे पनि सदस्यता भने कुनै संस्थाको लिएका छैनन् । एनआरएनबारे फाट्टफुट्ट सुने पनि यिनलाई सदस्यता लिन विगतमा इच्छा भने जागेन । ‘एनआरएन अमेरिका नाम त सुनेको थिएँ । तर के गर्छ थाहा थिएन, लिएर के हुन्छ थाहा थिएन,’ उनले भने– ‘खासगरी नेपालमा महाभूकम्प जाँदा यहाँबाट भएको सहयोग र डाक्टरको टोलीले दिएको उपचार मैले टिभीमा हेरेको थिएँ अनि मलाई पनि सदस्य हुन जाँगर चल्यो ।’

दोहोरो नागरिकताको लडाइँमा एनआरएनएले खेलेको भूमिकाले समेत पाठकलाई सदस्य लिनुपर्दछ भन्ने गरायो । ‘हामी यहाँ बसेका छौं, नेपालबाट आयौं अब हामीलाई त केही छैन हाम्रा सन्ततीलाई पनि त नेपाल चाहिन्छ,’ उनले भने– ‘यहाँ हामी कर्मले आएका हौं, जन्म त नेपाल हो नि ? त्यसैले हामी दुवै देशका नागरिक बन्न पाउनुपर्दछ ।’

इलिनोइस राज्यको सिकागोमा बस्दै आएका रविन शर्मालाई पनि एनआरएनप्रति चाहना बढेको छ । विद्यार्थी भिसामा रहेका उनलाई विद्यार्थीको समस्यामा समेत एनआरएनएले केही गर्न सक्छ भन्ने आशा छ । ‘विद्यार्थी भिसामा रहँदा थुप्रैं समस्याहरु जुध्नुपर्दछ,’ उनी भन्छन्– ‘पढ्ने समयमा पढ्नका लागि समस्या, पछि पढेपछि कामको खोजी गर्न समस्या हुन्छ ।’ पछिल्लो केही वर्षयता एनआरएन अमेरिकाको सक्रियताबाट उत्साही उनलाई विद्यार्थीलाई अवसरको खोजी गरिदिनसमेत एनआरएन अमेरिकाले सहयोग गर्न सक्छ जस्तो लागेको छ । ‘हामी सबै मिलेर नै एनआरएनए बलियोे हुने हो,’ उनले भने– ‘नेपालीको संस्था भएकाले यसले गर्ने भनेकै नेपालीकै लागि हो ।’

क्यालिफोर्निया सानफ्रान्सिस्को वे एरिया बस्दै आएकी रोमी गुरुङ पनि अमेरिका आएको झण्डै ८ वर्ष भयो । आफ्नैं कर्म गरेर जीविका चलाइरहेकी उनी अहिलेसम्म एनआरएन अमेरिकाको सदस्य बनेकी छैनन् । ‘के हो, किन बन्ने भन्ने नै थाहा थिएन,’ २७ वर्षीया उनले भनिन्– ‘न त यसबारे मलाई पहिला कसैले थाहा नै दिएन ।’ तर अहिले भने उनी एनआरएन अमेरिकाबाट प्रभावित भएकी छन् । नेपालको गोर्खाकी उनी आफ्नो गाउँमा महाभूकम्पले भत्काएको विद्यालय अमेरिकी एनआरएनले गएर पुनर्निर्माण गरिदिएपछि यो संस्थाप्रति प्रभाव परेको बताइन् । ‘एनआरएन अमेरिकाले भूकम्पपछि जुन हिसाबले नेपालमा सहयोग पु¥यायो, त्यसबाट म अत्यन्त प्रभावित भएँ । यो संस्था हाम्रै लागि रहेछ भन्ने लाग्यो,’ उनले भनिन्– ‘मेरो नेपालमा भएका परिवारले समेत साह्रैं गुणगान गर्नुहुन्छ अब भने सदस्य बन्छु ।’

जर्जियाकी २३ वर्षीया प्रीति धितालले पनि एनआरएन अमेरिकाप्रति चासो राख्न थालेकी छन् । नेपालमा इन्जिनियरिङ सिध्याएर यहाँ आएकी उनी आफ्नै फिल्डमा काम गर्छिन् । ‘आफ्नो कर्म ग¥यो, बस्यो भन्ने लाग्दथ्यो,’ उनले भनिन्– ‘तर, अहिले संस्था चाहिँदो रहेछ भन्ने जानियो । खासगरी नेपालमा भूकम्पको समयमा जुन हिसाबले एनआरएन अमेरिकाले सहयोग ग¥यो, त्यो सहयोग हामी सबैले प्रशंसा गर्न योग्य छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot