Logo

रुपन्देहीको एउटा वडा र बझाङको दुई मतदान केन्द्रमा आज पुनः मतदान



भैरहवा १६ असार। उम्मेदवारको मृत्यु भएपछि गत बुधबार स्थगित भएको रुपन्देहीको एउटा वडामा आज मतदान भइरहेको छ । अहिले बिहान ७ बजेदेखि त्यस वडामा मतदान भइरहेको छ ।

रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई गाउँपालिका वडा नम्बर १ मा अहिले मतदान भइरहेको हो । वडा नम्बर १ का वडा सदस्यका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार मुराली मल्लाहको मृत्यु भएपछि त्यस वडाको मतदान प्रभावित भएको थियो । उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

माओवादी केन्द्रले मल्लाहको स्थानमा भोला मल्लाहलाई उम्मेदवार बनाएको छ । यस वडामा ४ मतदान केन्द्र रहेका छन् । कोटहीमाई गाउँपालिका दक्षिणी रुपन्देहीको मधेसी बाहुल्य क्षेत्र हो ।

त्यस्तै बझाङको जय पृथ्वी नगरपालिका वडा नम्बर ३ को ‘क’ र ‘ख’ नम्बरको मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो । बुधबार मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएपछि यस केन्द्रको मतदान प्रक्रिया स्थगित भएको थियो । जिल्ला निर्वाचन कार्यालयले त्यस स्थानमा आज पुनः मतदान गराउने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot