Logo

देउवाको ध्यान मन्त्रिपरिषद विस्तारदेखि संविधान संशोधनसम्म



काठमाडौं, १६ असार । दोस्रो चरणको निर्वाचन सम्पन्न भएर धमाधम मतपरिणाम सार्वजनिक भैरहेको छ । मतपरिणाम आईरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा भने मन्त्रिपरिषद विस्तार गर्नेदेखि लिएर संविधान संशोधन गर्नेबारेमा केन्द्रित भएर लागिपरेका छन् ।

प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार देउवाले एक दुईदिनभित्रै मन्त्रिपरिषद विस्तार गर्नेगरि तयारी थालेका छन् । जसअनुसार उनले हिजोमात्रै पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग आन्तरिक छलफल समेत गरेका छन् । कांग्रेसको कोटामा १० मन्त्रालय परेको छ । जसमध्ये देउवाले ६ र पौडेल पक्षधरले ४ मन्त्रालय राख्ने सहमति भएको छ ।

सत्ता गठबन्धन कांग्रेस–माओवादी केन्द्रले पार्टीबाट मन्त्री बन्नेहरुको नाम आजै टुंगो लगाउने र भोलि मन्त्रिमण्डल बिस्तार गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।

देउवाले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज साँझ पनि भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै, उनले सरकारमा सहभागी हुने विषयमा राप्रपा अध्यक्ष कमल थापा र राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग पनि छिट्टै छलफल गर्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्